१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आठवटै जिल्लाका सभापति र शीर्ष नेताको उपस्थितिमा सभा हुने

नेपालब्रिटेन डट कम्
१४ श्रावण २०७४, शनिबार ०४:२०

काठमाडौं । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० वटा तहमा पछि परेको कांग्रेसले प्रदेश नम्बर २ मा प्रभावकारी र आक्रामक प्रचारप्रचार गर्ने भएको छ । यसअघि दुई चरणका निर्वाचनमा समयमा उम्मेदवार चयन गर्न नसक्दा धेरै स्थानीय तह पराजित भएको निष्कर्ष निकालेको कांग्रेसले २ असोजमा प्रदेश नम्बर २ का आठ जिल्लामा प्रभावकारी प्रचारप्रचार गर्ने नीति लिएको हो ।

यसका लागि कांग्रेसले १४ साउनमा प्रचारप्रसार समितिले प्रभावकारी रणनीति बनाउन जनकपुरमा छलफल गर्न लागेको छ । ‘पहिलो र दोस्रो चरणको निर्वाचनमा हामी एमालेभन्दा पछि परे पनि अबको सिंगो ध्यान प्रदेश नम्बर २ मा केन्द्रित गर्दै छौँ,’ स्थानीय तह प्रचारप्रसार समितिका संयोजक रमेश लेखकले नयाँ पत्रिकासँग भने, ‘समितिले प्रदेश नम्बर २ मा प्रचारको रणनीति बनाउन छलफल गर्दै छ । त्यसपछि हामी आक्रामक प्रचारमा जान्छौँ ।’

नेता लेखकका अनुसार आठवटै जिल्लाका सभापतिसहितका नेताको उपस्थितिमा शनिबार हुने भेलाले ती जिल्लामा प्रचारप्रचारलाई प्रभावकारी बनाउनेछ । स्थानीय मिडिया, सामाजिक सञ्जालसहितबाट प्रचारप्रसारलाई व्यवस्थित बनाउन आठवटै जिल्लामा प्रचार हेर्ने संयोजक र सहसंयोजक राख्ने गरी संयन्त्र बनाउने तयारी पनि कांग्रेसको छ । प्रचारप्रसार समितिको छलफलपछि प्रदेश नम्बर २मा केन्द्रीय प्रतिनिधि खटाउने तयारीमा कांग्रेस छ । केन्द्रीय प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य खटाउने, सांसदहरूलाई पनि खटाइने भएको छ । पार्टीले केन्द्रबाट पठाउने केन्द्रीय प्रतिनिधिले अन्तद्र्वन्द्व, असन्तुष्टिलाई न्यूनीकरण गर्न भूमिका खेल्ने र कांग्रेसमा पक्षमा माहोल बनाउनेछन् ।

आठवटै जिल्लामा आमसभा, शीर्ष नेताको सम्बोधन
तेस्रो चरणको निर्वाचनका लागि कांग्रेसका शीर्ष नेताहरूले आठवटै जिल्लामा हुने सभालाई सम्बोधन गर्ने भएका छन् । कांग्रेसले परम्परागत पकड क्षेत्र मान्दै आएको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा गरिने चुनावी सभालाई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताले सम्बोधन गर्ने गरी कार्यक्रम तय हुन लागेको जानकारी उनले दिए । यस्ता सभा भदौको पहिलो सातासम्म आयोजना गरिनेछ । जिल्लामा गाउँ र नगरस्तरीय सभा पनि गर्ने तयारी कांग्रेसको छ ।

एक सय तह जित्ने दाबी
कांग्रेसले निर्वाचन हुन बाँकी आठ जिल्लाका १२७ मध्ये एक सय तहमा जित्ने दाबी गरेको छ । स्थानीय तहको पहिलो र दोस्रो निर्वाचनमा एमालेभन्दा ५० तहले पछि परे पनि तेस्रो चरणमा एक सयवटा जितेर पहिलो दल बन्ने दाबी गर्दै आएको छ । ‘तराई–मधेस कांग्रेसको उर्बरभूमि हो, त्यसैले हामी तेस्रो चरणमा एक सयवटा तहमा जित्छौँ भन्ने विश्वासमा छौँ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने । २ नम्बर प्रदेशको भेलामा सम्बोधन गर्दै कांग्रेस नेता विमलेन्द्र निधिले पूर्व–पश्चिम राजमार्गका १९ वटा तहमा मात्रै एमालेको पकड रहेको भन्दै कांग्रेसलाई एक सय तहमा जित्न असम्भव नरहेको बताएका थिए । एमालेको पकड रहेका तहमा माओवादी र राजपासँग तालमेल गर्दा कांग्रेस धेरै क्षेत्रमा जित्ने दाबी उनको थियो ।

संशोधन अघि बढाउने केन्द्रीय समितिको निर्णय
भेलाको यो निष्कर्षलाई कांग्रेस केन्द्रीय समितिको बैठकले सकारात्मक रूपमा ग्रहण गर्दै संविधान संशोधनको लागि पेस गरी पारित गर्न तयार रहेको निर्णय गरेको छ । ‘माओवादी केन्द्र, लोकतान्त्रिक मधेसी मोर्चा, संघीय गठबन्धन, राष्ट्रिय जनता पार्टीलगायत सबै दलसँग विगतमा भएका सबै सहमति कार्यान्वयन गर्न नेपाली कांग्रेस प्रतिबद्ध छ । कांग्रेस व्यवस्थापिका संसद्मा विचाराधीन रहेको नेपालको संविधान संशोधन विधेयक पूर्वसहमतिअनुरूप पेस गरी पारित गर्न तयार रहेको छ,’ कांग्रेसको निर्णयमा उल्लेख छ, ‘सो विधेयक पारित गरी संविधानको स्वीकार्यता विस्तार गर्न र आगामी सबै तहका निर्वाचनको वातावरण सहज बनाउन प्रमुख प्रतिपक्ष एमालेलगायत सबै राजनीतिक दललाई अपिल गर्छ ।’

प्रदेश नम्बर २ कांग्रेसको अपेक्षा
संशोधनको पक्षमा एमालेले राखेको अडानले राजनीतिक निकास दिन नसकेको भन्दै संविधान संशोधन गरी राजनीतिक निकास दिनुपर्ने माग कांग्रेसका प्रदेश नम्बर २ नेताहरूको छ । सो प्रदेशका कांग्रेस केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति, क्षेत्रीय सभापतिसहितका नेताहरूको केही दिनअघिको भेलाले यस्तो आग्रह गर्दै जनताको अधिकार सुनिश्चित हुने निर्वाचनमा सहभागी हुन राजपालाईसमेत आग्रह गरेको थियो । साउन ५ र ६ मा चलेको भेलाले स्थानीय तहको संख्या बढाउनसमेत माग गरेको थियो ।
रमेश सापकोटा/नयाँ पत्रिकाबाट