६ चैत्र २०८०, मंगलवार
Follow Us

जिशिअ बाह्र घण्टाको अनुसन्धानपछि नियन्त्रणमुक्त

नेपालब्रिटेन डट कम्
१४ श्रावण २०७४, शनिबार ०६:३३

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिबास, महोत्तरीले छानबिनका लागि नियन्त्रणमा लिएको सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीलाई १२ घण्टापछि शुक्रबार छाडेको छ ।

शुक्रबार दिउँसो नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको सुवेदीलाई राति करिब १० बजे कार्य क्षेत्रमा फर्काइएको छ । रु छ लाख ९५ हजारसहित पक्राउ परेका सुवेदीलाई साउन १८ गते प्रमाणसहित कार्यालयमा उपस्थित हुने गरी छाडिएको हो ।

बाह्रघण्टे अनुसन्धानका क्रममा सुवेदीले सो रकम आफ्नो भएको जिकिर गरेकाले सप्रमाण कार्यालयमा उपस्थित हुने गरी तत्कालका लागि नियन्त्रणमुक्त गरिएको आयोगको क्षेत्रीय सम्पर्क कार्यालय बर्दिबासले जनाएको छ ।

शुक्रबार सर्लाहीबाट भारतीय नं प्लेटको बोलेरो जिपमा चितवनस्थित घरतर्फ गइरहेका बेला प्रहरीले सुराकीका आधारमा जाँच गर्दा सुवेदीलाई रकमसहित चितवनबाट नियन्त्रणमा लिएको थियो । एक वर्षदेखि सुवेदी सर्लाहीको जिशिअका रुपमा कार्यरत छन् ।