६ चैत्र २०८०, मंगलवार
Follow Us

अपहरित नासु भारतको सोनबर्षाबाट अपहरणमुक्त

नेपालब्रिटेन डट कम्
१४ श्रावण २०७४, शनिबार १६:१५

महोत्तरी । जिल्ला मालपोत कार्यालय, महोत्तरीमा कार्यरत नायब सुब्बा रामजी राय सकुशल अपहरणमुक्त हुनुभएको छ । बिहीबार कार्यालयबाट घर सर्लाहीको वेल्हीतर्फ जानेक्रममा बाटोबाट अपहरणमा पर्नुभएका नायबसुब्बा राय आज भारतको विहार सितामढी जिल्लाअन्तर्गत सोनवर्षा ग्राम पञ्चायतबाट अपहरणमुक्त हुनुभएको छ ।

अपहरणकारीले रायलाई सोनवर्षास्थित मन्जुर शेखको घरमा राखी घरपरिवारसँग रु २८ लाख माग गरेको र सो दिन नसक्दा रु १० लाख बराबरको कागज गर्न लगाई रायकी श्रीमती द्रौपती रायको नाममा चिठी लेख्न लगाइएको थियो ।

सोही चिठी लिएर पैसा माग्ने क्रममा प्रहरीमा जानकारी प्राप्त भई घटनास्थल पुगेका प्रहरीले अपहरणमा संलग्न सर्लाही वेल्ही गाविसका वीरेन्द्र ठाकुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ठाकुर पक्राउ परेलगत्तै अपहरणमा रहेका यादवलाई भारतीय प्रहरीको सहयोगमा अपहरणमुक्त गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पक्राउ परेका ठाकुरलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, महोत्तरी पठाइएको छ । ठाकुर यसअघि पनि विभिन्न समयमा अपहरण कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको छ । सर्लाहीको धनगाढा माविमा प्राविस्तरका शिक्षक ठाकुरले आर्थिक लोभका कारण मिल्ने साथी रायलाई अपहरण गरेको खुलासा भएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।