६ चैत्र २०८०, मंगलवार
Follow Us

दार्जिलिङ आन्दोलनमा थप एकको मृत्यु

नेपालब्रिटेन डट कम्
१४ श्रावण २०७४, शनिबार १६:१९

काठमाडौं । भारतको बंगाल प्रदेशको दार्जिलिङमा गोर्खाल्यान्डको मागसहित भइरहेको आन्दोलनको क्रममा शनिबार थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । शनिवार बिहान दार्जिलिङवासीहरुले निकालेको खुकुरी जुलुसमा भारतीय सुरक्षाकर्मीले हस्तक्षेप गर्दा भएको झडपमा परि एक जनाको मृत्यु भएको हो ।
शनिवार बिहान तीनधारे, गाडीधुरालगायतका क्षेत्रबाट आएको खुकुरी जुलुसलाई सुरक्षाकर्मीले दाजिलिङको प्रवेशद्धार सुकुनामा हस्तक्षेप गरेको थियो । हस्तक्षेपको क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा दर्जनभन्दा बढी आन्दोलनकारी गम्भीर घाइते भएका छन् ।
घाइतेमध्येका दार्जिलिङवासी अजय क्षत्रीको मृत्यु भएको जनाइएको छ । टाउकोमा गोली लागेका क्षत्रीको सिलिगुडीमा उपचारका क्रममा मृत्यु भएको गोर्खा जनमुक्ति मोर्चाले जनाएको छ । योसँगै दार्जिलिङमा गोर्खाल्याण्डको मागसहित भइरहेको आन्दोलनमा मृत्यु हुनेको संख्या दश पुगेको छ ।