४ बैशाख २०८१, मंगलवार
Follow Us

कांग्रेसभित्रैबाट नयाँ पार्टी गठनको कसरत !

नेपालब्रिटेन डट कम्
१५ श्रावण २०७४, आईतवार ०८:५६

काठमाडौं । कांग्रेसका करिब डेढ दर्जन पुराना नेताहरू छुट्ट्रै पार्टी गठनको अभियानमा जुटेका छन् । आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने गरी उनीहरू छुट्टै पार्टी गठनको तयारीमा रहेको स्रोतले जनाएको छ । पूर्वसभामुख एवं पूर्वमहामन्त्री तारानाथ रानाभाट, पूर्वमहामन्त्री केबी गुरुङ र बिपीपुत्र प्रकाश कोइरालामध्ये १ जनालाई अध्यक्ष बनाउने तयारी छ ।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई स्वीकार गरेर कांग्रेसले बिपीले देखाएको बाटो बिरायो भन्दै अलग पार्टी गठनको तयारीमा जुटेका नेताहरूमा पूर्वसभामुख एवं महामन्त्री रानाभाट, पूर्वमहामन्त्री गुरुङ, पूर्वउपसभापति चिरन्जीवी वाग्ले, पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, पूर्वकेन्द्रीय सदस्यहरू ओमकार श्रेष्ठ, ढुण्डीराज शास्त्री, विनयध्वज चन्द, प्रकाश कोइराला, लक्ष्मणप्रसाद घिमिरेलगायत छन् ।

यसैगरी मणि लामा, बद्रीनारायण बस्नेत, देवेन्द्र नेपाली, नारायण कोइराला, हरिबोल भट्टराई, विष्णु पन्थी, महेश कोर्मोचालगायत नेताहरूसँग पनि छुट्टै पार्टी गठनका लागि वार्ता अघि बढेको छ । पार्टीको नाम ‘नेपाली कांग्रेस बिपीवादी’ राख्ने तयारी भएको उक्त अभियानका एक नेताले बताए । उनका अनुसार आगामी २४ भदौमा बिपी जयन्तीको अवसर पारेर उक्त पार्टीको घोषणा हुनेछ । निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक प्रक्रिया पु-याउने तयारी रहेको स्रोतले जनाएको छ ।

पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा टुंगो लाग्न बाँकी रहेको बताउँदै उक्त अभियानका एक नेताले भने, ‘केबी गुरुङ, तारानाथ रानाभाट र प्रकाश कोइरालामध्ये एक जनालाई अध्यक्ष बनाउने करिबकरिब टुंगो लागिसकेको छ । कांग्रेसभित्र हिन्दू राष्ट्र पुनर्वहालीको अभियानमा लागेका खुमबहादुर खड्कासँग पनि उक्त अभियानले वार्ता गरिरहेको छ । खड्काले नैतिक समर्थन दिएको तर, आफैँ सहभागी हुनेबारेमा भने निधो नगरेको स्रोतले जनाएको छ ।

‘संसदीय व्यवस्थाको खिलापमा हिंसात्मक अभियान सुरु गरेको माओवादीसँग १२ बुँदे सहमति गरी गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको लाइनमा कांग्रेस जानु भनेको बिपी कोइरालाको सिद्धान्तलाई तिलाञ्जली दिनु हो भन्दै उक्त अभियानका नेताहरूले देशव्यापी गतिविधि गरिरहेका छन् । संघीयता र धर्मनिरपेक्षताको विरोधमा खड्का समूह पनि सामेल छ । तर, गणतन्त्रको मामिलामा भने खड्का समूहसँग कुरा मिलेको छैन । गणतन्त्र मुलुकको राजनीतिक उपलब्धि भएकाले यसलाई उल्ट्याउन नहुने विचार खड्का समूहको छ भने छुट्टै पार्टी गठनको अभियानमा लागेका नेताहरूले भने, ‘राजाविना देश नरहने’ बिपी कोइरालाको भनाइ चरितार्थ हुँदै गएकाले देश जोगाउनका लागि यथाशक्य चाँडो राजसंस्था पुनर्वहालीको अभियान सुरु गर्नुपर्ने निचोडमा छ ।

सशस्त्र द्वन्द्वकालमा माओवादीद्वारा कब्जा गरिएको कांग्रेसका नेताकार्यकर्ता तथा सर्वसाधारणको घरजग्गा फिर्ता नगरिएको भन्दै केबी गुरुङको नेतृत्वमा छुट्टै अभियान सुरु गरिएको थियो । माओवादीद्वारा पीडित नेताकार्यकर्ताहरू उक्त अभियानमा थिए । त्यही अभियान विकसित हुँदै जाँदा छुट्टै पार्टी गठन गर्ने तयारीमा पुगेको हो । हरिबोल भट्टराईको बिपी चिन्तन प्रतिष्ठान र तारानाथ रानाभाट नेतृत्वको पूर्वसांसद क्लबको कार्यालयमा छुट्टै कांग्रेस स्थापना गर्ने विषयमा धेरै चरणमा छलफल भइसकेको अभियानका एक नेताले बताए ।

भ्रष्टाचार गरी संसदीय व्यवस्थालाई बदनाम बनाएको, तत्कालीन राजा ज्ञानेन्द्रले गरेको ‘कु’ लाई साथ दिएको लगायत आरोपहरू खेपिरहेका नेताहरूको बाहुल्यता रहेको यो अभियानले पार्टीको स्वरूप ग्रहण गरेको अवस्थामा कांग्रेसलाई कुन हदसम्मको क्षति पुग्ला ? भन्ने जोड घटाउमा पनि राजनीतिक विश्लेषकहरू जुटेका छन् । कांग्रेसबारे जानकार एक जना विश्लेषक भन्छन्, ‘एक हिसाबले ‘डेट एक्स्पायर’ औषधि जस्तै भइसकेका यी पुराना नेताहरूले गठन गर्ने पार्टीले प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनतर्फका सिट जित्ने सम्भावना न्यून छ । तर, कांग्रेसका उम्मेदवारहरूलाई चुनाव हराउन भने यो अभियान काफी छ ।’

गत महाधिवेशनमा यो अभियानका सबै नेताहरूले शेरबहादुर देउवालाई साथ दिएका थिए । अर्थात् देउवालाई चुनाव जिताउने निर्णायक भूमिका यही अभियानका नेताहरूले निर्वाह गरेका थिए । चुनाव जितेपछि सभापति देउवाले कृष्णप्रसाद सिटौला समूह र खुमबहादुर खड्का समूहलाई मात्रै च्यापेको आफूहरूलाई वास्ता नगरेको गुनासो उनीहरूको छ । देउवाले कम्तीमा पनि चिरन्जीवी वाग्ले, तारानाथ रानाभाट, विनयध्वज चन्द र लक्ष्मण घिमिरेलाई केन्द्रीय सदस्य मनोनीत गर्लान् भन्ने आशा उक्त अभियानको थियो । तर, सभापति देउवाले वास्तै गर्न छाडेपछि र वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको पानी बाराबारको सम्बन्धमा कुनै सुधार हुन नसकेपछि अर्को पार्टी खोल्नु उक्त समूहका लागि बाध्यता जस्तै रहेको कांग्रेसका एक विश्लेषकले सुनाए ।
– विन्दुकान्त घिमिरे