७ बैशाख २०८१, शुक्रबार
Follow Us

नैतिकताको संकटबाट पार्टीलाई बचाउनु् आवश्यक : वरिष्ठ नेता पौडेल

नेपालब्रिटेन डट कम्
१५ श्रावण २०७४, आईतवार १४:५८

पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नैतिकताको संकटबाट पार्टीलाई बचाउनु आवश्यक भएको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस इकाईद्वारा आज आयोजित बिपी स्मृति पार्क उद्घाटन एवम् चौथो वर्षका विद्यार्थीको बिदाई समारोहमा उहाँले प्रजातान्त्रिक विचार र मूल्य मान्यतालाई आत्मसात् गर्दै राम्रो आचारण तथा व्यवहारलाई प्रत्येक काँग्रेसका कार्यकर्ताले अङ्गिकार गर्नुपर्ने बताउनुभयो ।

“राजनीति सम्मानित बन्नु आवश्यक छ, सम्मानित हुने किसिमको आचरण र व्यवहार नेता तथा कार्यकर्तामा हुनुपर्छ,” उहाँले भन्नुभयो, “प्रत्येक सर्वसाधारणको दिलमा सकारात्मक प्रभाव पार्ने किसिमले राजनीतिकर्मीले आफूलाई उभ्याउन सक्नुपर्छ ।”

लोकतन्त्रमा शक्ति भनेको जनताको अन्तरमनदेखिको समर्थन भएको बताउँदै उहाँले राष्ट्र र लोकतन्त्रको रक्षाका लागि काँग्रेसको नेतृत्व अपरिहार्य हुने बताउनुभयो । “काँग्रेसको नेतृत्वमा भएको लामो समयदेखिको संघर्षको प्रतिफलस्वरुप राजनीतिक व्यवस्थामा टुङ्गो लागेको छ,” उहाँले भन्नुभयो, “नेपालको अबको बाटो समृद्धिको हो, यसका लागि ठोस योजनासहित अघि बढ्नु आवश्यक छ ।”

बिपीको आदर्श र विचारलाई सम्मान गर्दै उहाँको स्मृतिमा उद्यान बन्नु आफँैमा महत्वपूर्ण कार्य भएको उहाँले बताउनुभयो । संविधानको सफल कार्यान्वयनका साथै राष्ट्र र लोकतन्त्रको रक्षाका लागि आसन्न प्रदेश र सङ्घको निर्वाचनमा काँग्रेस विजयी बन्नुपर्नेमा उहाँको जोड थियो ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले बिपीको विचारकै जगमा नेपाल वर्तमानमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै अघि बढेको बताउँदै स्मृतिमा उद्यान निर्माण गरिनुले उहाँको योगदान बाँचिरहने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस कास्कीका पूर्वसभापति सोभियतबहादुर अधिकारीले बिपीले अघि सारेका विचारलाई वामपन्थी शक्तिले पनि आत्मसात् गरेको बताउँदै त्यही विचारकै जगमा देशलाई समृद्धिको मार्गमा लैजान सकिने बताउनुभयो ।

नेपाली काँग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले लोकतान्त्रिक संस्कार र संस्कृति बोक्ने युवाबाट नै राष्ट्र र लोकतन्त्र जोगाउन सकिने धारणा राख्नुभयो ।

नेपाल विद्यार्थी सङ्घ तनहँुका अध्यक्ष चुडामणि खनालले बिपी कोइराला नेपालको मात्र नभएर विश्वकै एउटा आदर्श नेताका रुपमा स्थापित बन्नुभएको बताउनुभयो ।

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्षद्वय डिल्लीराम सुवेदी र सागर परियार, सहमहामन्त्री हरिहर शर्मा, पूर्वकेन्द्रीय सदस्य युवराज पाण्डे, गोविन्द एलसी, केन्द्रीय सदस्य भानु ढकाल, देवकृष्ण पराजुली, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस नेवि सङ्घ इकाइका अध्यक्ष आदर्श लामिछाने, क्याम्पस प्रमुख रामप्रसाद पौडेल, नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

स्मृति पार्क निर्माण समितिका संयोजक सुमन शर्माका अनुसार रु १० लाख ५० हजारमा पार्क निर्माण गरिएको हो ।