८ बैशाख २०८१, शनिबार
Follow Us

अग्लो पुलबाट हामफालेर आत्महत्या गर्ने जोडीको शव अस्पतालमा

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७४, सोमबार ०५:०८

फलेवास । मुलुककै अग्लो झोलुङ्गे पुलबाट हाम फालेर आत्महत्या गर्ने युवायुवती जोडीको शव पर्वत जिल्ला अस्पतालमा राखिएको छ ।
मृतकका आफन्तहरु आएर शव पहिचान नगर्दासम्म अस्पतालमै राखिने भएको हो । आफन्तहरुलाई खबर भइसकेको र आज दिउँसोसम्म आइपुग्ने र त्यसपछि उनीहरुकै सहमतिमा शवपरीक्षण गरिने या शवपरीक्षणका लागि अन्यत्र पठाउने भन्ने निर्णय हुने पर्वतका प्रहरी निरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
पुरानो बागलुङको हरिचौर घर भई हाल ललितपुर उपमहानगरपालिका–१४ बस्ने २५ वर्षीया मुना राना र धरान उपमहानगरपालिका–११ का २६ वर्षीय अकिन गुरुङले पुलबाट एकैपटक हाम फालेर सामूहिक रुपमा आत्महत्या गरेका थिए ।
शनिबार राति १० बजेको समयमा मोदीखोलामा हाम फालेर उनीहरुले आत्महत्या गरेका थिए । खोलामा हाम फाल्ने तयारीका साथ पुलबाट खसेको भए पनि उनीहरु खोला किनारमा करिब ५० मिटरको अन्तरमा खरवारीमा परेका थिए ।
उनीहरु शनिबार घुमघामका लागि भन्दै पर्वत सदरमुकाम कुश्माबजार आइपुगेका हुन् । शनिबारको दिन घुमघामका लागि आएको उक्त जोडी रातिको समयमा नेपालकै अग्लो पुलबाट हाम फालेर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
पुलमा रहेको उनीहरुको सामान देखेपछि हाम फालेर आत्महत्या गरेको हुनसक्ने अनुमानका आधारमा उनीहरुको खोजी गरिएको र आइतबार बिहान मोदीको किनारमा जोडीको शव भेटिएको थियो । उनीहरु ट्रेकिङमा आएको पाइएको छ । उनीहरुको झोलामा राति बास बस्ने टेन्ट तथा अन्य बन्दोबस्तीका सामानहरुसमेत रहेका थिए । उनीहरु दुवैका सामान एउटै झोलामा, मोबाइल, पैसासमेत एकै ठाउँमा भेटिएका छन् । उनीहरु प्रेमीप्रेमिका हुन सक्ने अनुमानसमेत गरिएको छ । उक्त घटनाबारे विस्तृत जानकारी आफन्तसँग सोधपुछ गरेपछि मात्र पत्ता लाग्ने बताइएको छ ।