१५ चैत्र २०८०, बिहीबार
Follow Us

टेलिकमको सेवामा विशेष छुट

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७४, सोमबार ०८:५३

काठमाडौं । नेपाल टेलिकमले आजबाट आफ्ना विभिन्न सेवामा ग्राहकलाई विशेष छुट दिएको छ । उसले जिएसएम-सिडिएमए तथा एडिएसएल-एफटिटिएच सेवाका ग्राहकका लागि ‘प्रमोसनल अफर’ उपलब्ध गराएको हो ।

अब विदेशबाट आएको कल उठाउँदा पनि बोनस प्राप्त गर्न सकिने छ । यो अफर आगामी ९० दिनसम्म उपलब्ध गराइने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।

यो अफरअन्तर्गतको सेवा पुराना ग्राहकलाई समेत उपलब्ध हुनेछ । अब एक एमबिपिएससम्म गतिको एडिएसएल इन्टरनेट करसहित मासिक रु एक हजारमा उपलब्ध हुनेछ । पहिला मासिक एक हजार १७ मा २५६ केबिपिएस गतिको एडिएसएल उपलब्ध थियो ।

त्यसैगरी भोल्युम बेस्ड एडिएसएलको मूल्य पनि घटाइएको छ । पहिला २१ जिबी डाटाका लागि रु एक हजार ९८० शुल्क लिइएकामा अब १५ जिबी डाटा रु ३०० मै उपलब्ध हुने टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै २५ जिबी डाटाको रु ५०० र ४० जिबीको डाटाको मूल्य रु ७०० मात्र तोकिएको छ । यी डाटाको गति एक एमबिपिएससम्म हुनेछ ।

दर्ता शुल्क पनि घटाएको टेलिकमले पहिले दर्ता शुल्क करबाहेक रु ५०० भएकामा अब भोल्युम बेस्ड डाटाका लागि करबाहेक रु ३०० र अनलिमिटेड डाटाका लागि रु २०० मात्र दर्ता शुल्क तोकिएको टेलिकमले जनाएको छ ।

यस्तै अब पहिलेकै मूल्यमा पहिलेभन्दा डबल भोल्युमको एफटिटिएच सेवा प्राप्त गर्न सकिने छ । सोअनुरुप १० एमबिपिएस गतिको एफटिटिएच प्याकेजअन्तर्गत तीन महिनाका लागि २४० जिबी, छ महिनाका लागि ५०० जिबी र १२ महिनाका लागि एक हजार २०० जिबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने छ । त्यसैगरी १०० एमबिपिएस गतिको प्याकेजअन्तर्गत १२ महिनाका लागि एक हजार २०० जिबी डाटा प्रयोग गर्न सकिने छ ।

साथै विदेशबाट आएको कल उठाउँदा पनि अब बोनस प्राप्त गर्न सकिने छ । जिएसएम÷सिडिएमए प्रिपेड र पोस्टपेडका ग्राहकले एक सातामा सात मिनेट वा त्योभन्दा बढी कल रिसिभ गर्दा टेलिकमको नेटवर्कभित्र सात मिनेट भ्वाइस कल गर्न र सातवटा एसएमएस निःशुल्क पठाउन सक्ने विज्ञप्तिमा उल्लेख छ ।