१४ बैशाख २०८१, शुक्रबार
Follow Us

हाम्रो प्रेम अंकुराउँदा अंकुराउँदै छिमलियो

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०७४, मंगलवार ०४:२१

रविना रोकाया, लेखिका
‘पिउनकी छोरी आई है भन्दै मेरो अपमान गर्थे, मन चसक्क दुख्थ्यो, कस्तो छुद्र मान्छे भनेर मनमनै गाली गर्थें,’ विगतको सम्झना यसरी सुनाइन् रविना रोकायाले । पुनः अपमान हुने डरले स्कुल–घरबाहेक उनी अन्यत्र जाँदिन थिइन् । पेसा र व्यवसाय गरेर खान पनि नदिने मुगुको गमगढी एसएलसी दिनेवित्तिकै उनले छाडिन् । बालबालिकालाई दिने टर्चर, महिलामाथि हुने व्यवहारले रविनाको हृदय छुन्थ्यो । उच्च शिक्षा अध्ययन नसक्दै उनले मुगुको जनजीवनमा आधारित धर्मकन्या सामाजिक उपन्यास लेखिन् । उनको उपन्यास, लेखक बन्ने उत्साह र मुगुको वास्तविक जीवनबारे कालिका महतले रविनासँग गरेको कुराकानी ः

० धर्मकन्याभन्दा अगाडि पनि केही पुस्तक लेख्नुभएको थियो ?
– बालकथा लेखेकी थिएँ ०६८ सालमा । त्यो राजधानी आइपुग्न पाएन, मुगुमै बिक्री वितरण भयो ।

० धर्मकन्याको सन्देश ?
– यो सामाजिक उपन्यास हो, यसमा मुगुको जनजीवनको प्रस्ट चित्र उतार्न खोजिएको छ । विशेषगरी महिलामाथि हुने हिंसा, सौतेनी आमाको व्यवहार, केही गर्न खोज्ने महिलालाई निरुत्साहित गर्ने प्रवृत्तिलाई देखाउन खोजिएको छ ।

० यो उपन्यास यथार्थमा आधारित हो ?
– घटनाप्रधान हो, कसैको जीवनसँग मेल खाला, तर मैले सत्यता र कल्पनाको समिश्रणमा उपन्यास उतारेकी हुँ ।

० उपन्यास लेख्न के कुराले पे्ररित ग¥यो ?
– मुगु कर्णालीको विकट जिल्ला हो, बाहिरका मान्छे आएर रारा तालको वर्णन गर्छन्, सामाजिक घटना फिल्ममा उतार्छन् । बाहिरबाट आएकालाई भन्दा मुगुको सामाजिक वास्तविकता हामीलाई बढी थाहा छ, हामीले अनुभव गरेका छौं, भोगेका छौं । यी कुरालाई पुस्तकमा किन लिपिबद्ध नगर्ने ? भनेर मूर्तरूप दिएकी हुँ । त्यस अर्थमा म मुगुको पहिलो लेखिका पनि हुँ ।

० धर्मकन्यामा उल्लेख भए जस्तै हो, मुगुका महिलाको जीवन ?
– सदरमुकामबाहेक ग्रामीण क्षेत्रका महिलाहरूको अवस्था उपन्यासमा चित्रण गरेको भन्दा पनि अझ दर्दनाक छ । छोरीलाई मान्छेको दर्जामा नराख्ने प्रवृत्ति, वंश धान्ने छोरालाई दिइने सुविधाले गर्दा एकदमै ठूलो विभेद छ । त्यो विभेदको सिकार छोरीलाई नबनाइने हो भने उसले पनि केही गर्न सक्छे भन्ने उदाहरण मैले प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

० पछिल्लो समयमा त परिवर्तन आयो होला नि ?
– परिवर्तन त आयो, तर सदरमुकाममा सीमित छ । शिक्षा र स्वास्थ्यको पहुँच गाउँ–गाउँमा पुग्न सकेको छैन । मुगुका ग्रामीण महिलाको अवस्था एकदमै कहालीलाग्दो र बिर्सनलायक छ ।

० महिलाको शोषणमा महिला पनि होलान् नि ?
– त्यो पनि एउटा समाजको फ्याक्टर हो । सौतेनी आमाको व्यवहार, दिदीबहिनी र दाजुभाइसँगको सम्बन्ध तथा प्रगतितर्फ उन्मुख महिलालाई अघि बढ्न नदिने प्रवृत्ति समाजमा विद्यमान छ, जुन शिक्षा र चेतनाको अभावले भएको हो । अवसर पाए महिलाले पनि पुरुषसरह योगदान दिन सक्छन् भन्ने चेतना मुगुमा पुगिसकेको छैन ।

० मुगुको पहिलो लेखक बन्न उपन्यास लेख्नुभएको त होइन ?
– होइन, सानै उमेरमा मैले गायिका कोमल वलीलाई रारामा भेटेकी थिएँ, उहाँजस्तै चर्चित बन्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । तर मसँग त्यस्तो कला थिएन, यद्यपि म सानैदेखि बालकथा लेख्थें । लेखन विधा मेरा लागि प्रिय लाग्छ । मैले लेख्नुको अर्थ म आफू चर्चित हुन होइन, मुगुलाई प्रसिद्ध बनाउन हो । मुगुको भौगोलिक र सामाजिक अवस्थाको जानकारी सबैलाई गराउन पाए हुन्थ्यो भन्ने लागेर लेखन विधा रोजेकी हुँ ।

० मुगुका महिलाको पीडाबोध गर्ने तपाईं पनि पीडित हुनुहुन्छ ?
– म पीडित छैन, म त्यस्तो भाग्यमानी हुँ, जो मेरा अभिभावकले सरकारी कार्यालयमा सहयोगीको जागिर खाएर पनि भाइ र मलाई बोर्डिङ स्कुलमा पढाउनुभयो । उच्च शिक्षा हासिल गर्न नेपालगन्ज पठाउनुभयो, अहिले काठमाडौंमा बसाइँ छ ।

० मुगुबाट उच्च शिक्षा हासिल गर्न सकिँदैन ?
– आफूले रोजेको विषयमा उच्च शिक्षा हासिल गर्न सकिँदैन, बाध्य भएर नेपालगन्ज बसें, त्यसपछि अझ गुणस्तरीय शिक्षाका लागि काठमाडौं आएकी हुँ । मुगुमा शिक्षाशास्त्रमा मात्र स्नातकसम्मको पढाइ हुन्छ । मेरो अभिभावकको चाहनाअनुसार व्यवस्थापन विषयमा उच्च शिक्षा हासिल गर्दैछु ।

० आख्यान लेखन मात्र हो ?
– हो, विशेष कथा र उपन्यास मेरा रुचिका विधा हुन्, कविता मन पर्छ, लेख्न भाँती पुग्दैन ।

० नयाँ कृति पनि आउँदैछ कि ?
– तत्काललाई कुनै योजना छैन, लेखनलाई निरन्तरता दिने मेरो योजनालाई भाग्यले कत्तिको साथ दिन्छ, अहिले भन्न सक्दिनँ । तर कुशल लेखिका बन्ने मेरो चाहना र योजना हो ।

० प्रकाशक सजिलै भेट्नुभयो ?
– निक्कै कठिन भयो, तर जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै भेटेँ ।

० कति खर्च भयो ?
– एक लाख ४० हजार रुपैयाँ प्रकाशकलाई बुझाएपछि पुस्तक छापियो ।

० कहाँबाट ल्याउनुभयो पैसा ?
– अभिभावकले खर्च हाल्दिनुभएको हो ।

० पुस्तक पढेपछि पाठकले के पाउँछन् ?
– मुगुको जनजीवन, घरपरिवार र समाज । समाज एकअर्काको सहयोगका लागि बनेको हुन्छ । पैसाको पछि लाग्नुभन्दा समाजमा एउटा भए पनि सकारात्मक काम गरौं भन्ने म्यासेज पाइन्छ ।

० लेखेर जीविकोर्पाजन हुन्छ ?
– तत्काल चाहिँ मैले देखेको छैन, तर लेखनको भविष्य नराम्रो चाहिँ छैन ।

० अभिभावक के गर्नुहुन्छ ?
– स–सानो होटल व्यवसाय छ, विशेषगरी आमाले व्यवसाय सम्हाल्नुभएको छ, बुबा सरकारी कार्यालयमा सहयोगी हुनुहुन्छ । बाँकी समय त्यही व्यवसायमा बुवा संलग्न हुनुहुन्छ ।

० परिवारमा कतिजना ?
– म ठूली छोरी हुँ, दुई भाइ छन् । उनीहरू स्कुल पढ्दैछन् ।

० विवाह गर्नुभयो ?
– छैन, महिलामाथि यो समाजले गरेको व्यवहार देख्दा विवाहप्रति नै घृणा जागेर आउँछ । त्यसो भन्दैमा अहिले नै पारिवारिक जीवनबारे कुनै सोच भने बनाएकी छैन ।

० अविवाहित बस्नु समस्याको समाधान हो त ?
– होइन, तर मुगुका महिलाहरूले जुन पीडा सहेर बसेका छन्, त्यो सहन म सक्दिनँ कि भन्ने हो । विद्रोही र अराजक स्वभावकी छु, त्यसैले मेरो दिमागमा त्यस्ता कुरा आएका होलान् ।

० मन मिल्ने नभेटेर हो कि ?
– विवाह गरौं, पे्रम गरौं भन्ने प्रस्ताव त आइरहन्छ, तर मलाई त्यस्ता कुरामा विश्वास लाग्दैन । केटीलाई प्रोपोज गर्नु अस्वाभाविक होइन, यद्यपि जीवनले एउटा मोड लिएपछि त्यस विषयमा सोच्न सकिन्छ ।

० स्कुल कलेज पढ्दा लभ परेन ?
– मन परेको त स्कुल पढ्दाको त्यो केटो थियो नि, तर के गर्नु बोलचाल नै नभई बे्रकअप भइदियो । परिवारको अवरोधले हाम्रो पे्रम अंकुराउँदा अंकुराउँदै छिमलियो ।

० पुनः अंकुराउने सम्भावना छैन ?
– सम्भावना कम देख्छु, किनभने ऊ यतिबेला रिलेसनमा छ । कसैको खुसी खोस्नु मेरा लागि पाप हो । त्यसैले उसँगको पुनर्मिलनको आशा मारिसकेकी छु ।