१२ बैशाख २०८१, बुधबार
Follow Us

जनकपुर उपमनपामा मन्त्रीका अगाडि कार्यकारी अधिकृत कुटिए

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०७४, मंगलवार ११:३७

धनुषा । शहरी विकास तथा भवन निर्माणमन्त्री प्रभु साहसँगै विकास निर्माण कार्यको अनुगमनमा रहेका जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृतलाई स्थानीयवासीले कुटपिट गरेका छन् ।

जनकपुर नगर क्षेत्रमा एडिबीको ऋण सहयोगमा सञ्चालित एकीकृत विकास आयोजनाको स्थलगत अनुगमनका लागि आज बिहानै सम्बन्धित कार्यालयका प्रमुखसहित मन्त्री साह स्थानीय विद्यापति चोक पुगेको बेला कार्यकारी अधिकृत अर्जुनप्रसाद सुवेदीलाई कुटपिट गरिएको हो ।

आयोजनाको काममा ढिलासुस्ती र लापर्वाही भएको गुनासो नगरवासीले मन्त्री साहसामु गरेपछि अनुगमन गर्ने निधो गरिएको थियो ।

सोही क्रममा मन्त्री साहले सडक आयोजनाको काममा भइआएको ढिलासुस्ती हटाउन सम्बन्धित कार्यालय प्रमुखहरुलाई बोलाएर निर्देशन दिइरहनुभएका बेला जनकपुर उपमनपाका कार्यकारी प्रमुख सुवेदी आफ्नो गाडीमा मोबाइल चलाएर बसिरहनुभएको थियो ।

उपमहानगरपालिकाकै समन्वयमा सञ्चालित आयोजनाका सबैभन्दा बढी जिम्मेवार कार्यकारी अधिकृत मन्त्रीका अगाडि नबसेर गाडीमा बसेको देखेपछि केही स्थानीय युवाले उनलाई बाहिर निस्केर मन्त्री साहको कुरा सुन्न आग्रह गरेका थिए । तर, प्रमुख सुवेदीले आफू मन्त्रीको कुरा सुन्न नजाने भनेर जवाफ फर्काएपछि ती युवा आक्रोशित भएको र उनलाई गाडीबाट तान्दै कुटपिट गरेको बताइएको छ ।

कुटपिटपछि अवस्था थप बिग्रन नदिन मन्त्री साहलाई तत्काल प्रहरीले घटनास्थलबाट बाहिर लगेको थियो ।
यता, मन्त्री साहले बिजुली विभाग, टेलिकम र खानेपानी कार्यालयको असहयोगका कारण कामले गति लिन नसकेको आफूले जानकारी पाएको बताउनुभयो । समन्वयको अभावमा निर्माण कार्य प्रभावित भएको र जनताले सास्ती भोग्नुपरेको देखिएकाले शीघ्र समन्वय गरी दुई तीन दिनभित्र सबै समस्या समाधान गर्न आफूले सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको पनि उहाँले जानकारी दिनुभयो ।