१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विदेश जाने महिला अझै शोषित छन्ः बिजया राई श्रेष्ठ

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०७४, मंगलवार १२:०२

सन् २००३ मा बैदेशिक रोजगारमा गएर फर्किएका केही दिदी बहिनीसंग मिलेर यो क्षेत्रमा काम गर्नु पर्छ भन्ने सोच आएपछि संस्थापकको रुपमा पौरखी नेपाल भन्ने संस्था स्थापना गरि काम गदैं आएकी विजया श्रेष्ठसंग नेपालब्रिटेन डट कमका लागि रन्जु क्षेत्रीले गरेको कुराकानी ।

१) तपाईं लामो समय देखि बैदेशिक रोजगारमा गएर फर्किएका महिलाहरुको हितमा कार्यरत हुनुहुन्छ । आफनो परिचय र आवद्ध संघसंस्थाबारे बताइदिनुहोस् न ?

मेरो नाम बिजया राई श्रेष्ठ हो । म आफैं दुई वर्ष जापानमा काम गरेर फर्किएको हुं । सन् २००३ मा बैदेशिक रोजगारमा गएर फर्किएका केही दिदी बहिनीसंग मिलेर यो क्षेत्रमा काम गर्नु पर्छ भन्ने सोच आएपछि संस्थापकको रुपमा पौरखी नेपाल भन्ने संस्था स्थापना गरि कार्यसमिति सदस्यका साथै कार्यालय प्रमुख भएर काम गरें । त्यो मेरो १५ वर्षको लामो अनुभवले भर्खरै फेरि एउटा नयां संस्था शुरु गरेको छु । नयां संस्थाको नाम आमकास नेपाल हो । पुरा नाम आप्रवासी महिला कामदार समूह हो जसको म संस्थापक अध्यक्ष हुं । त्यस्तै बैदेशिक रोजगारबाट फर्किएका महिलाहरुको सहकारी 
संस्थाको अध्यक्ष पनि छु म ।

२) तपाईंलाई संस्था खोल्ने प्रेरणा कसरी मिल्यो ? तपाईं आफैं 
बैदेशिक रोजगारमा जांदाका तीतो मिठो अनुभव केही छन् कि ?

बैदेशिक रोजगारीको सिलसिलामा जापानमा दुई वर्ष एउटा कारखानामा काम गरेर फर्केको हुं । जापान बस्दा त्यस्तो विकसित ठाउंमा पनि नेपालीहरु महिला भएकै कारण विभिन्न हिंसा खेपेको अनुभव गरें । म आफू पढे लेखेको भएपनि जाने क्रममा र फर्कने बेला आफ्नै देशको अध्यागमनमा समस्या झेल्नु परेको अनुभव 
रहयो । त्यस बेला नेपालबाट घरेलु काममा विशेष गरि खाडी मुलुक जाने महिलाहरु दिन दिनै हिंसामा परेकोे देख्दा मलाई यो क्षेत्रमा काम गर्ने उत्सुकता तथा प्रेरणा जाग्यो । हामीले नगरे कसले गर्ने भन्ने सोच र त्यसै बेला नेपालमा बैदेशिक रोजगारमा जाने महिलाका लागि आएको कार्यक्रमले यो क्षेत्रमा काम गर्न सहज भयो ।

३) नेपालमा महिला श्रमिकहरुको अवस्था कस्तो छ अहिले ?

महिला सशक्तिकरणको मेरो लामो अनुभव अनुसार महिला श्रमिकको अवस्था आशातित चित्त बुझ्दो नभए पनि सुधारसहित धेरै अगाडि बढेको पक्कै छ । घरेलु कामदारहरुको अझै न्यूनतम ज्याला तोकिएको छैन् । दैनिक रुपमा मजदुरी गर्ने महिलाहरुको ज्याला पुरुषहरुको दांजोमा कम छ । आफ्नै घर भित्रको कामको अझै सम्मान छैन् जसका कारण जोखिम मोलेरै महिलाहरु खाडी मुलुकमा घरेलु कामका लागि जाने क्रम रोकिएको छैन् । उच्च स्तरको काम जस्तै कार्यालयमा पढे लेखेका महिलाहरुको सायद त्यति विभेद छैन् होला ज्यालामा तर तल्लो स्तरमा काम गर्ने महिलाहरुको अवस्था सन्तोषजनक छैन् ।

४) विदेशमा काम गरेर फर्किएका महिलाहरुका लागि तपाईं के कसरी सहयोग गरिरहनु भएको छ ?
अधिकांश वैदेशिक रोजगारमा जाने दिदी बहिनीहरु गरिबी, घरेलु हिंसा र परिवारको आर्थिक स्थितिका कारण विदेशिएका हुनाले मेरो संस्थाको पहिलो उद्देश्य हो त्यस्ता महिलाहरुलाई एउटै छाता मुनि ल्याउने ताकि हाम्रो आवाज बुलन्द होस् । उहांहरुको क्षमता अभिवृद्धि गर्ने, सरकारसंग बैदेशिक रोजगारमा जाने र तिनका परिवारको हक अधिकार तथा नीति नियमका लागि पैरवी गर्ने । धेरै दिदी बहिनीहरु सूचनाको अभावले गर्दा बैदैशिक रोजगारीका क्रममा समस्यामा पर्ने भएकोले समुदायस्तरको जनचेतनामुलक काम गर्ने र अन्त्यमा रोजगारीकै अभावमा विदेशीने भएकोले हामीले शुरु देखि नै सरकारसंग स्वरोजगारको लागि पैरवी गर्दै आयौं । यस कारण हामीले अहिले सरकारबाट भन्दा पनि आइएनजिओ, यूएन जस्ता निकायको सहयोगमा आर्थिक सशक्तिकरण कार्यक्रम अन्तर्गत बैदेशिक रोजगारबाट फर्किएका दिदी बहिनीहरुलाई तालिम दिई नेपालमा नै केही पैसा कमाउने बाटो देखाउंदै छौं ।

५) एनजिओहरुको काम त कमाई र आफनो स्वार्थपूर्ति गर्ने मात्र छ भन्ने आरोप छ नि ?

छैन् म भन्न सक्दिन । केही एनजिओहरु छन् गरिबको नाममा झोलामा कार्यालय बोकेर आफनो स्वार्थपूर्ति गर्दै हिंड्ने । त्यस्तो बदनाम गर्ने केही एनजिओ भए भन्दैमा राम्रो काम गर्नेहरुलाई चाहिं यस्तो भनेर निरुत्साहित गर्नु हुंदैन जस्तो लाग्छ मलाई । वास्तवमा नेपालको गांउ गाउंमा जुन बेला 
हाम्रो स्थानीय तहको सरकारको अवस्था कमजोर थियो त्यस बेला एनजिओहरुले ठूलो भूमिका खेलेका छन् । एनजिओहरुले सरकारसंग हातेमालो गर्दै गाउंको विकास र हरेक क्षेत्रमा जनचेतना फैलाएका उदाहरण प्रशस्त छन् । बरु सरकारले त्यस्तो झोले एनजिओहरुको कडा अनुगमन गर्नुपर्छ अनि राम्रो काम गर्नेलाई निरुत्साहित होइन प्रोत्साहन गर्नुपर्छ ।

६) राज्यले त्यस्ता महिलाहरुको हित र उत्थानको लागि के पहल गरिरहेको छ ?
अहिलेको अवस्थामा राज्यले हामी जस्तो महिलाहरुको हित र उत्थानका लागि केही काम गर्न थालेको छ । जस्तै बैदेशिक रोजगारमा नै जान्छु भन्नेहरुका लागि तालिमको व्यवस्था, सही सूचनाका लागि सामुदायिक स्तरमा सूचना केन्द्रहरुको स्थापना, महिला मैत्री ऐन कानुन बनेका छन् । साथै सकेसम्म आफ्नै देशमा केही गरुन् भनेर सरकारले केही गैर सरकारी संस्थाहरुसंग मिलेर आयमुलक कामको सुरुवात गरेको छ । तर, अझै भने जस्तो र हाम्रो मिहेनत अनुसार सोचे जस्तो सरकारबाट पहल हुन सकेको छैन् । अझै पनि नीति नियमको कार्यान्वयन पक्ष फितलो नै छ ।

७) विदेशमा खासगरी नेपाली महिला कुन देशमा बढि जाने गर्छन् र त्यो संख्या कति रहेको तथ्यांक छ ?
वैदेशिक रोजगार विभाग अनुसार नेपाली महिला सबैभन्दा बढि जाने देश खाडी मुलुक कुवेत र दुबाइ हो । आजकाल मलेसिया जाने क्रम पनि बढ्दो छ । यद्यपि सरकारसंग बैदेशिक रोजगारमा जाने महिलाको खासै यकिन तथ्यांक छैन् किनभने धेरै महिला नेपाल भारतको खुल्ला सिमानाका कारण अवैध जाने भएकाले 
सरकारसंग अभिलेख छैन् । त्यसकारण कुवेतमा २९६००, साउदी अरबमा १५२००, बहराइनमा १९०००, ओमनमा १२८०० छ भन्ने अनुमान छ ।

८) नेपालमा महिला सशक्तिकरणका कुरा धेरै सुनिन्छ । वास्तवमा त्यो कति सत्य छ ? रोजगारीका लागि नेपालमा नै निर्भर हुने दिन कहिले आउला ?

वास्तवमा २०४६ साल, अझ २०६३ साल यता नेपालमा महिला सशक्तिकरणको नारा सहित महिला आन्दोलन सफल हुंदै छ भन्न सकिन्छ । उदाहरणका लागि नेपालमा 
राष्ट्रप्रमुख, सभामुख देखि प्रधानन्यायधीश महिला बन्नुभयो । त्यस्तै हालै सम्पन्न स्थानीय चुनावको नतिजा हेर्दा सांच्चिकै महिला सशक्तिकरण भएको देखिन्छ तर समुदाय र दुर्गम क्षेत्रमा अझै महिलाको अवस्था विकरालै छ । सांच्चै भन्नु पर्दा गैर सरकारी संस्थाहरुको समुदायस्तरको महिलाहरु सशक्तिकरणमा ठूलो भूमिका खेलेको छ । जब सम्म नेपाल सरकारले स्वरोजगारको कार्यक्रम व्यापक रुपमा ल्याउंदैन्, जब सम्म कामको सम्मान 
हुंदैन, लैंगिक असममानता हट्दैन तबसम्म महिलाहरु नेपालमा नै निर्भर हुन सक्ने दिन आउंदैन ।

९) विदेशमा महिलाहरुले भोग्नु परेका समस्या कस्तो प्रकृतिका छन् ?
विदेशमा महिलाहरुले भोग्नु परेका समस्या धेरै खालका छन् । अझ घरेलु काममा जाने महिलाहरुले घर भित्र रहेर काम गर्नु पर्ने भएकाले र घरेलु काममा जाने महिला अधिकांश अवैध तरिकाले जाने भएकाले आफ्नो आधारभूत मानव अधिकारबाट समेत वञ्चित हुने गरेका छन् । दलाल तथा मेनपावर एजेन्सीले एउटा काम भनेर अर्को काम दिने, एउटा देश भनेर अर्को देश लैजाने प्रवृत्ति समेत बढेकाले धेरै किसिमको हिंसाको शिकार हुन्छन् महिला । समयमा तलब नदिने, शारिरिक शोषण, शारिरिक हिंसा, बलात्कार, घरमा समय समयमा सम्पर्क गर्न नदिने, सोचे जस्तो नभएपछि मानसिक स्थिति गुमाएको अवस्था छ । सिप र भाषाको अज्ञानताले गर्दा त्यति नै समस्या भोग्नु परेको अवस्था छ । समस्या पर्दा आफनो राजदूतावाससंग सम्पर्क गर्न नसक्ने, परिवारसंग सम्पर्क विहिन अवस्थामा बस्नु पर्ने जस्ता 
अनेकौं समस्या नेपाली महिलाहरुले भोग्नु परिरहेको छ ।

१०) अन्त्यमा के भन्न चाहनुहुन्छ ?
हाम्रा दिदी बहिनीहरुलाई भन्दा सरकार तथा सम्बन्धित निकायहरुलाई म के भन्न चाहन्छु भने देशमा नै 
रोजगारका कार्यक्रमहरु ल्याइनु पर्छ । अवसर हाम्रै देशमा धेरै छन् । सके सम्म घरेलु काममा खाडी मुलुक तथा मलेसिया जस्तो देशमा जान वाध्य नहोस् हामीलाई । पठाउने नै हो भने पूर्ण रुपले सुरक्षाको ग्यारेन्टी गरेर, भाषा सिकाएर, काम सिकाएर मात्र जाने अवस्था सृजना गरियोस् । रोजगारदाता 
राष्ट्रसंग हाम्रो लागि बलियो श्रम सम्झौता गरियोस् जसले गर्दा कामदारले समस्या झेल्नु पर्दैन ।