१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘एनआरएन अमेरिकी विवाद अन्त्य गर्न कार्यदल सक्रिय’

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०७४, मंगलवार १२:११

फ्रयाङ्फर्ड । गैरआवासीय नेपाली संघ अमेरिकामाको पछिल्लो विवाद अन्त्य हुने सम्भवना बढेर गएको छ । गैरआवासीय नेपाली संघको आइतवार सम्पन्न बैठकले अमेरिकास्थित एनआरएन निर्वाचन प्रकृया विवादको अन्त्य गर्न तीन सदस्य एक समिति गठन भएपछि विवाद अन्त्य हुने सम्भावना बढेको हो ।
अगष्ट ११ तारिख हुने एनआरएन अमेरिकाको निर्वाचनमा उम्मेदवार बनेका गौरी जोशीको उम्मेदवारी रद्द गरेपछि विवाद केन्द्रसम्म तानिएको थियो । बैठकले पूर्वप्रवक्ता डा. हेमराज शर्मा, सल्लाहाकार विश्वआर्दश पण्डित, संरक्षक दिल गुरुङ रहेको कार्यदल गठन गरेको छ ।

सदस्य विश्वआर्दश पण्डितका अनुसार कार्य दलले हिजो सोमवारदेखि नै काम थालिसकेको छ । तोकिएको समयसीमामा समितिले प्रतिवेदन बुझाउने छ पण्डितले नेपाल ब्रिटेन डट कमसँग भने, ‘संघले दिएको जिम्मेवारीलाई समयभित्रै हामी पूरा गछौं, अहिले आन्तरिक छलफल चलिरहेको छ ।’
गैरआवासीय नेपाली संघ अमेरिकाको विवादले विश्वभरका एनआरएनहरु तरंगीत भएकाले कार्यदलमाथिको महत्वपूर्ण जिम्मेवारी रहेको पण्डितले बताए । उनले भने, ‘हामी यो वा त्यो पक्ष भनेर निर्णय सुनाउदैनौ तथ्यका आधारमा यथार्थ प्रतिवेदन दिन्छौं ।’

यसअघि संघ पूर्वप्रवक्ता डा. शर्माले हिजो सोमवार बेलायत आउने पूर्वनिर्धारिकत कार्यक्रम रद्द गर्दै संरक्षक दिल गुरुङसँग अमेरिकी एनआरएन विवादबारे छलफल गरेका थिए । आइतवार राती २ बजेसम्म चलेको बैठकमा गैरआवासीय नेपाली संघ अमेरिकाको विषयमा सदस्यहरु पक्ष र विपक्षमा विभाजित भएका थिए ।
बैठकमा संघका प्रमुख संरक्षक जीवा लामिछानेले एनआरएन अमेरिकाको विवादले संघको गरिमा घटेको विचार व्यक्त गरेका थिए । संघका महासचिव डा. बद्री केसीले यसअघि अध्यक्ष घलेलगायतका पदाधिकारी माथि अनुशासन समितिमा गरेको उजुरी फिर्ता लिएका थिए । बैठकमा महासचिव डा. केसी, अमेरिकी क्षेत्रीय संयोजक सोनाम लामालगायतले आआफ्ना कमजोरीप्रति आत्मआलोचना गर्दै संघको एकतामा जोड दिए । ६ घन्टासम्म चलेको बैठकमा अधिकांश समय एनआरएन अमेरिकाको विवादमा केन्द्रित थियो ।

बैठकको अन्त्यमा अध्यक्ष शेष घलेले सबै पक्षलाई संघको हितमा काम गर्न आग्रह गर्दै मिलेर अगाडि बढ्न अनुरोध गरेका थिए । बैठकमा सहभागी सदस्यले पक्ष विपक्षमा लाग्न नहुने भन्दै नेतृत्वलाई मिलेर जान भनेका थिए ।