७ बैशाख २०८१, शुक्रबार
Follow Us

शर्माको सुनुवाइ हेर्दाहेर्दैमा बुधबार

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०७४, मंगलवार १५:३७

काठमाडौं । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा बुधबारका लागि राखिएको छ ।

न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासमा आज सुनुवाइ हुँदाहँुदै नभ्याएपछि बुधबारका लागि राखिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो ।

आज नायब न्यायाधिवक्ता किरण पौडेल, सहन्यायाधिवक्ता हरिप्रसाद जोशी र पद्मप्रसाद पाण्डेले बहस गर्नुभएको थियो ।

आइतबार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र अधिवक्ता ललितबहादुर बस्नेतले बहस गर्नुभएको थियो । त्यसअघि गत आइतबार अधिवक्ता डा भीमार्जुन आचार्य, सतीशकृष्ण खरेललगायतले बन्दीमा रहेका शर्मालाई तारिखमा छाड्नुपर्ने तर्क राख्नुभएको थियो ।

शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले थुनामा राखिएको थियो । आजदेखि अदालतले शर्मालाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।

गत असार ४ गते न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र प्रकाश राउतको संयुक्त इजलासले शर्माको विशेष अदालतको मुद्दालाई यथास्थितिमा राखी सो मुद्दा पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो । शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई शर्मालाई गैरकानुनी रूपमा थुनामा राखेको जनाउँदै गत असार २७ गते बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो ।

कर फछ्र्याेट आयोगका सदस्यसचिवसमेत रहनुभएका शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको रु २१ अर्बबराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ ।