१२ बैशाख २०८१, बुधबार
Follow Us

म्याग्दी जिल्ला समन्वय समितिमा निर्विरोध

नेपालब्रिटेन डट कम्
१८ श्रावण २०७४, बुधबार ०५:५७

बाबियाचौर । म्याग्दीमा क्रियाशील राजनीतिक दलले सहमतिमा उम्मेदवारी दर्ता गरेपछि जिल्ला समन्वय समितिका पदाधिकारी निर्विरोध चुनिएका छन् ।

समितिको संयोजक, उपसंयोजक र सातजना सदस्य पदमा एक÷एक जनाको मात्र मनोनयन दर्ता भएकाले निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संयोजकमा एमालेका देवेन्द्र केसी र उपसंयोजकमा नेपाली काँग्रेसका लोकबहादुर मल्ल चयन हुनुभएको छ ।

नेकपा (एमाले) म्याग्दीका उपाध्यक्ष केसी रघुगंगा–२ भगवतीको वडा सदस्य र नेपाली काँग्रेसका जिल्ला सल्लाहकार मल्ल मालिका–१ निस्कोटको वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

सदस्यमा काँग्रेसका तर्फबाट अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका मेखबहादुर पुर्जा, धौलागिरि गाउँपालिका–३, मुनाकी रामदेवी पुन र बेनी नपा–८ की खिमकुमारी गर्बुजा समितिको सदस्यमा चयन हुनुभएको छ ।

राप्रपाका तर्फबाट बेनपा–७ का हरि शाक्य र धौलागिरि गाउँपालिका–१ गुर्जाकी सुकमाया छन्त्याल, एमालेबाट अन्नपूर्ण गाउँपालिका–१ दोवाकी बोमाया गर्बुजा र नेकपा (माओवादी केन्द्र)बाट बेनपा–७ का शेरबहादुर केसी समितिको सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

मनोनयन दर्ता गर्नुअघि मंगलबार नेपाली काँग्रेसको पार्टी कार्यालयमा काँग्रेस र एमालेका नेताबीच भएको सहमतिअनुसार गोलाप्रथा गरेर संयोजक, उपसंयोजक र पदसंख्याको टुंगो लगाइएको थियो ।

गोला थुत्दा संयोजकसहित चार सदस्य पाएको एमालेले दुई सदस्य राप्रपालाई दिएको हो । यसैगरी, उपसंयोजक र चार सदस्य पाएको काँग्रेसले आफ्नो भागमा परेको एक सदस्य माओवादी केन्द्रलाई छाडेको छ ।

छवटा स्थानीय तह रहेको म्याग्दीमा जिल्ला समन्वय समितिको चुनावमा मताधिकार भएका १२ मध्ये छ काँग्रेसका, एमालेका पाँच र राप्रपाका एकजना मतदाता थिए ।

काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजा र एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले सहमति, सहकार्यको राजनीतिक वातावरण बनाउन सर्वसम्मत जिल्ला समन्वय समितिको पदाधिकारी चयन गरिएको बताउनुभयो ।

साउन २० गते मतदानको मिति तय भएपनि सबै पदमा निर्विरोध भएकाले आज बुधबार नै पद तथा गोपनीयताको शपथ गराइने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।