१३ बैशाख २०८१, बिहीबार
Follow Us

देवी ज्ञवालीका छोरालाई किन पक्राउ गरियो, एमालेको विरोध

नेपालब्रिटेन डट कम्
१८ श्रावण २०७४, बुधबार १६:१०

भक्तपुर । नेकपा (एमाले)ले सामाजिक सञ्जालमा गाली गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर महानगरपालिकाका नेकपा एमालेका प्रमुखका उम्मेदवार देवी ज्ञवालीका छोरा निरवलाई पक्राउ गरेकाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आज बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा उहाँकै अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले तत्काल उहाँलाई रिहाइ गर्न माग गरेको एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले बताउनुभयो ।
माओवादी केन्द्रबाट चितवनको भरतपुर महानगरपालिकाका प्रमुखका उम्मेदवार रहेकी रेणु दाहाललाई दुई महिनाअघि सामाजिक सञ्जालमा प्रतिक्रिया लेखेको विषयलाई लिएर चुनावको मुखमा निरवलाई पक्राउ गर्नु निर्वाचन नै प्रभावित पार्ने षड्यन्त्र भएको एमालेले ठहर गरेको छ ।
गत जेठ १४ गते राति (माओवादी केन्द्र)का प्रतिनिधिले मतपत्र च्यातेपछि निरवले फेसबुकमा आफूलाई गालीगलौज गर्दै स्टाटस लेखेको भन्दै रेणुले चितवन प्रहरीमा उजुरी दिएको विषयलाई लिएर आज उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
त्यसैगरी बैठकले तीन जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका उम्मेदवारका लागि पार्टी जिल्ला कमिटीबाट आएका सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिसलाई सदर गरेको छ ।
जसअनुसार कञ्चनपुरमा प्रमुखमा खैरु तामाङ र उपप्रमुखमा सानुकमारी बुढा थापा, कैलालीमा सूर्यबहादुर थापा र सुन्दरीदेवी थारु तथा डोटीमा प्रमुखमा रामबहादुर ऐर र उपप्रमुखमा शशी सोवलाई उम्मेदवार बनाउने निर्णय भएको पोखरेलले बताउनुभयो ।
यसैगरी बाँके जिल्लामा प्रमुख र उपप्रमुखको उम्मेदवारको टुङ्गो लगाउने जिम्मा पार्टी अध्यक्ष ओली र प्रदेश इन्चार्ज विष्णु पौडेललाई जिम्मा दिने निर्णय गरेको छ ।
बैठकले बिरामी अवस्थामा रहनुभएका पार्टी केन्द्रीय सदस्य नजिर मियाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको स्थायी कमिटी सदस्य पोखरेलले बताउनुभयो ।

अध्यक्ष ओली र भारतीय राजदूतबीच भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।
भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले राजदूत पुरीसँग दुईदेशबीचको सम्बन्ध बिगार्न केही व्यक्ति सक्रिय रहेको बताउनुभएको ओलीको भनाइ उद्धृत गर्दै उहाँका स्वकीय सचिव अनिश दाहालले जानकारी दिनुभयो ।
सम्बन्ध सुधारका लागि ओली र राजदूत पुरीबीच दुई देशको सम्बन्ध सुधार्नेबारेमा छलफल भएको थियो । छलफलमा ओलीले राजदूत पुरीलाई केही व्यक्तिले सम्बन्ध बिगार्न खोजे पनि राजनीतिक तह र जनस्तरमा भने सम्बन्ध राम्रो रहेको जानकारी गराउनुभएको थियो ।
राजदूत पुरीले ओलीलाई चुनावमा एमाले पहिलो दल भएकाले बधाईसमेत दिनुभएको बताइएको छ । राजदूत पुरीले भारतको ७०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँस्थित दूतावासमा हुने समारोहको विशेष अतिथिका रुपमा निमन्त्रणा दिन बालकोट आउनुभएको बताइएको छ ।
समारोहमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज पनि आउने र उहाँले पनि ओलीको सहभागिता खोजेकाले पुरीले निमन्त्रणा दिन आएको बताइएको छ ।