१५ चैत्र २०८०, बिहीबार
Follow Us

तेइसौँ ‘विश्व आदिवासी दिवस’ मनाइँदै

नेपालब्रिटेन डट कम्
१८ श्रावण २०७४, बुधबार १६:१४

काठमाडौं । अगष्ट महिनाको ९ तारिख अर्थात् साउन २५ गते मनाइने २३औँ ‘विश्व आदिवासी दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।
‘आदिवासी जनजाति अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रको १०औँ वर्षगाँठ’ भन्ने नारासहित यो दिवस विश्वभर मनाइरहँदा नेपालका आदिवासी जनजातिले पनि सशक्त आन्दोलनको आधार निर्माणका रुपमा मनाउने जानकारी गराइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ‘अधिकार, प्रतिनिधित्व, स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचानसहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने मूल नारासहित साउन १८ देखि ३० गतेसम्म मुलुकभर विभिन्न कार्यक्रम गरिने जानकारी गराइयो ।
संयुक्त राष्ट्रसंघद्वारा ठीक २३ वर्षअघि घोषणा गरिएको ‘विश्व आदिवासी दिवस’लाई यो वर्ष २३औँ संस्करणका रुपमा मनाउन थालिएको हो । नेपालको आदिवासी जनजाति आन्दोलनको प्रमुख मुद्दा भनेको पहिचान, सामूहिक अधिकारसहितको स्वायत्त शासन र जातीय जनसंख्याका आधारमा राज्यका हरेक अंगमा समानुपातिक प्रतिनिधित्व रहेको महासंघका अध्यक्ष जगतबहादुर बरामले जानकारी दिनुभयो ।
विसं २०४७ मा स्थापना भएको नेपालको आदिवासी जनजाति आन्दोलनको नेतृत्वदायी संगठन महासंघले आदिवासी जनजातिका सवालमा आवाज उठाउँदै आइरहेको छ । महासंघले विकासका नाममा गरिने विभिन्न आयोजना तथा परियोजनाले आदिवासीको मानवअधिकारको हनन हुनुका साथै परम्परागत थातथलो तथा भूमि अतिक्रमण भएको भन्दै विरोध जनाएको छ ।
नेपालको हरेक राजनीतिक, आर्थिक परिवर्तन, देशको विकास र समृद्धिका लागि आदिवासीले रगत र पसिना बगाइरहनुका साथै उल्लेखनीय त्याग र योगदान गरेको बताउँदै अध्यक्ष बरामले संविधान संशोधन गरेर आदिवासी जनजातिलगायत असन्तुष्ट सामाजिक समूहको मुद्दालाई सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो ।