१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन बृक्षारोपण तिर

नेपालब्रिटेन डट कम्
१८ श्रावण २०७४, बुधबार १८:११

गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रले नेपालको वातावरण तथा पर्यावरण क्षेत्रको विकासको लागि विगतका केही वर्ष देखि काठमाण्डौं स्थित चोभार डाँडामा वृक्षा रोपण कार्य गर्दै आएको छ । यसै कार्यक्रमलाई निरन्तरता दिदै १४ श्रावण २०७४ शनिवारका दिन गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्र र आदिनाथ सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रुपमा आयोजना गरेको बृक्षा रोपण कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । चोभार स्थित आदिनाथ सामूहिक वनको क्षेत्रमा प्रमुख अतिथि विशेष अतिथि, अतिथिहरु र सहभागीहरुले रुद्राक्ष, बौद्धचित्त लगायत विभिन्न प्रकारका विरुवाहरु रोपेका थिए ।

बृक्षारोपण कार्यक्रम पछि ओपचारिक कार्यकम राखिएको थियो । उक्त कार्यक्रम माननीय युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै उहाँले आयोजकहरुलाई यस्तो पुनित कार्यमा आमन्त्रण गर्नु भएकोमा अभिनन्दन तथा हार्दिक धन्यवाद प्रकट गर्नु भयो । यसका साथै उहाँले एक मानवले सरल रुपमा श्वास फेर्न करीव ८ वटा जति रुख हुनु पर्ने र हाल काठमाण्डौ उपत्यकामा हाहारी ५० लाख मात्र रुख भएको जुन यहाँ बसोबासरहति व्यक्तिहरुलाई प्रयाप्त छैन । काठमाण्डौ उपत्यका भित्र मात्र करिव ३ करोड रुख हुनुपर्ने थियो त्यस कारणले गर्दा पनि वातावरणमा असर परेको बताउनु भयो । तसर्थ बृक्षारोपण अभियानहरुलाई निरन्तरता दिनेमा जोड दिनु भयो ।

साथै कार्यक्रमका विशेष अतिथि किर्तीपूर नगरपालिकाका मेयर रमेश महर्जनले चौभार क्षेत्रमा रहेका सम्पदाहरुको संरक्षण गरी आयमूलक पर्यकटकीय क्षेत्रको रुपमा विकास गरिने बारे आफ्नो धारणा राख्दै यस कार्यमा स्थानीय समुदाय र युवाहरुलाई परिचालन गरिने पनि बताउनु भयो । उपमेयर सरस्वति खड्काले अब बन्ने वन ऐनमा स्थानीय सरकारलाई वनको क्षेत्रमा ५ प्रतिशत मात्र अधिकार दिइने व्यवस्था हुन लागेको हुँदा सरोकारवाला सबै मिलेर स्थानीय वनमा स्थानीय सरकारको पूर्ण स्वामित्व हुनुपर्नेमा नेपाल सरकारसंग माग गर्न आग्रह गर्नु भयो ।

वार्ड नम्वर ६ चोभारका वडा अध्यक्ष न्युच्छे महर्जनले किर्तीपूरमा रहेका वन उपभोक्ता समितिहरुसंग समन्वय गरी त्यहा रहेका क्षेत्रमा योगदान गर्ने र यस क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सक्दो मदत गर्ने बताउनु भयो । नेपाल स्थित जापानी दूतावासका महामहिम राजदूतका प्रतिनिधि ताकासी नाकाताले महामहिम राजदूत माशासी ओगावाको सन्देश वाचन गर्नु भएको थियो । साथै उहाँले जापान सरकारले नेपालको पर्यावरण क्षेत्रको विकासमा अहिले र भविष्यमा पनि सहयोग पुर्याउने बताउनु भयो ।गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रका संयोजक किरण विक्रम थापाले केहीका वर्ष यता एशिया प्रशान्त क्षेत्रले वार्षिक रुपमा स्थानीय सरोकारवालाहरुको सहयोगमा बृक्षा रोपण कार्यक्रमहरु आयोजना गर्दै आएको छ बारे जानकारी दिनु भयो । उहाँले वातावरण सफा राख्न यस्ता कार्यक्रमहरु नियमित रुपमा हुनु पर्ने र वन क्षेत्रको सम्बर्द्धन र प्रबर्दन स्थानीय सरोकारवालाहरुको सक्रियतामा हुनु पर्ने विचार व्यक्त गर्नु भयो । साथै उहाँले देशमा स्वरोजगारको श्रृजना गरी युवाहरुलाई पर्यटन क्षेत्रमा परिचालन गर्नपर्ने बताउनु भयो ।

यसरी नै नेपाल टेलिभिजनका नायब महाप्रबन्धक, आदिनाथ विद्यालयका प्रिन्सिपल र अन्य विशिष्ट पाहुनाहरुले बृक्षारोपण र पर्यावरण बारे आ–आफ्ना मन्तव्य राखेका थिए । यस कार्यक्रममा आदिनाथ सामूदायिक वन उपभोक्ता समूहका अध्यक्षले आफ्नो समूहको बारेमा जानकारी दिदै सहभागीहरु सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो । यस कार्यक्रमको संचालन सोही समितिका उपाध्यक्षले गर्नु भएको थियो । यस समारोहमा एशिया प्रशान्त क्षेत्रका संयोजकले आदिनाथ माविको पुस्ताकालयमा राख्नको लागि पुस्तक तथा विद्यार्थीहरुको लागि स्टेशनरिहरु हस्तान्तरण गर्नु भएको थियो । यस कार्यक्रममा माथि मन्तव्य दिनु भएका अतिथिहरु बाहेक वार्ड नम्वर छ का सदस्यहरु, शसस्त्र प्रहरी गण, स्थानीय युवा क्लबहरु, महिला समूहर, वनउ पोभोक्ता समितिहरु, विद्यार्थीहरु, स्थानीय समूदाय र गैरआवासीय नेपाली संघ सचिवालयको सहभागीता रहेको थियो ।