१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनको सचिवमा महेन्द्र लम्सालले उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
१८ श्रावण २०७४, बुधबार १९:४४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवरमा हुने अधिवेशन नजिकिएसँगै उम्मेदवारी आउने क्रम जारी छ ।

यसै बीच संघको सचिव पदका लागि गैरआवासीय नेपाली संघको ओशियाना क्षेत्रका संयोजक महेन्द्र कुमार लम्सालले सचिव पदमा आफ्नो उम्मेदवारी अघि सारेका छन् ।

लम्सालले बुधवार नेपालब्रिटेन डट कमसँग कुराकानी गर्दै संघमा लामो समय देखी काम गर्दै आएको अनुभव र क्षमताको आधारमा आफुले सचिवको जिम्मेवारी लिने मनस्थितीमा पुगेको वताए ।

लम्सालले भने ‘साथीहरुकै आग्रहमा मैले ओशिआना क्षेत्रको संयोजकको रुपमा जिम्मेवारी समाले, अहिले धेरै साथीहरुले केन्द्रिय पदाधिकारी मध्य एक पदको जिम्मेवारी समाल्न आग्रह गर्नु भएको छ त्यसैले सबैको भावनाको कदर गर्दै गैरआवासीय संघको सचिवको जिम्मेवारी लिएर अभियानमा अझ शसक्त रुपमा लाग्ने विचार गरेको छु’ ।

अष्ट्रेलियालाई मुख्य कर्मथलो बनाएका लम्साल, त्यहाँ युवा व्यवसायीको रुपमा लोकप्रिय छन् । सन् २००७ देखी संघको अभियानमा लाग्दा बिभिन्न पदिय जिम्मेवारी समालेका लम्साल ट्राभल व्यवसायी हुन् । उनले हाइड्रो, मिडिया लगायतको क्षेत्रमा नेपालमा लगानी गरेका छन् ।

लम्साललाई अष्ट्रेलियन सरकारले सन् २०१२ मा अध्यागमन तथा बहुसंस्कृत मन्त्रालयको सुझाव समितिको सदस्यमा मनोनियन गरेको थियो ।

२२ बर्ष अघि अध्ययनको लागि अष्ट्रेलिया उत्रेका लम्सालले नेपालको पर्यटन प्रद्र्धनमा महत्वपूर्ण योगदान गरेका छन् ।
गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रिय बैठकमा भाग लिन जर्मनीको फ्यांङफर्ड आएका लम्साल अहिले यूरोपका बिभिन्न देशका गैरआवासीय नेपालीहरुसंग अन्तरक्रियामा जुटेका छन् ।

संघको क्षेत्रिय बैठक र आइतवार सम्पन्न आइसीसी बैठकमा लम्सालको प्रस्तुतीलाई धेरैले मन पराएका थिए ।

उनले बेल्जियम, जर्मनी, फ्रान्स्मा रहेको नेपालीसंग भेटघाट गरेका छन् । यसै बीच आइतवार गुल्मी समाज यूकेको वार्षिक भेटघाट कार्यक्रममा भाग लिन उनी लण्डन आउदैछन् ।