१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘नेपालमा वाइन कल्चर सुरु भएको छैन’

नेपालब्रिटेन डट कम्
१९ श्रावण २०७४, बिहीबार ११:०३

सोमबार रुडेसेयम पुग्दा उनी काममा व्यस्त थिइन् । मध्य फ्याङफर्डदेखि झन्डै ६० किलोमिटरको दुरीमा रहेको पर्यटन स्थल रुडेसेयममा भेटिएकी जिना मास्के दिनहुँ हजारौं पर्यटकसँग साक्षतत्कार गर्छिन् । काठमाडौंको न्युरोडमा जन्मिएकी मास्के गीत संगीतमा रुचि राख्छिन । तर, उनी भविष्यमा वाइन व्यवसायी बन्न चाहन्छिन् । उनले नेपाल र बेलायतबाट होटल व्यवस्थापनमा उच्च शिक्षा हासिल गरेकी छन् । फुर्सदको समय परिवार र गीत संगीतमै दिन बिताउँछिन् । भविष्यमा नेपालमा वाइन कल्चरको विकास गर्ने उद्देश्यका साथ गाइनह्याम यूर्निभरसिटीमा वाइन व्यवसायमा स्नातक गर्दै गरेकी मास्केसँग नेपाल ब्रिटेन डट कमले गरेको कुराकानी–

० कसरी रुडेसेयममा जागिर खान कसरी आइपुग्नु भयो ?
– अहिले गाइजेन्हाइम यूर्निभरसिटीबाट वाइन व्यवसायमा स्नातक गर्दैछु । साताको ५ दिन यूर्निभरसिटीको अध्ययनमा बित्छ । बाँकी समयका लागि काम खोज्दै थिएँ, अचानक अन्तर्वार्ताबाट चयन भए र काम गर्न थाले । फुर्सदको समय गीतसंगीत र आर्टिकल लेखनमा समय बित्छ ।

० वाइन बिजनेससम्वन्धी कोर्ष किन रोज्नु भयो ?
– मैले काठमाडौं र बेलायतबाट होटल म्यानेजमेन्टमा स्नातकसम्मको अध्ययन पूरा गरेकी थिएँ । यस्तै यूएइमा समेत हस्पिटालिटीमा काम गरेको अनुभव थियो । लामो समयदेखि यो क्षेत्रको अनुभवले मलाई के लाग्यो भने वाइनसम्बन्धी धेरै ज्ञानको आवश्यक हुँदो रहेछ । यस्तै हस्पिटालिटी क्षेत्र वाइन बिना चल्न सक्दैन् । सानैदेखि रुचिको बिषय भएकाले यो क्षेत्र रोजेँ । मैले बेलायतको राजपरिवारलाई वाइन सप्लाइ गर्दै आएको फिलिक वाइनरी कम्पनीमा ६ महिनाको इन्ट्रान्सिभसमेत गरेकी छु ।

० वाइन बिजनेस पढेपछि के गर्ने योजना छ ?
– नेपालमा वाइन कल्चर छैन् । वाइन पिउने भन्ने कुरालाई अझै हाम्रो समाजले पचाएको छैन् । नेपालमा अध्ययन भन्ने त परैको कुरा हो, त्यसैले नेपालमा वाइन कल्चरको बिकासमा लाग्ने इच्छा छ ।

० तपाई आफै कति पिउनुु हुन्छ वाइन ?
– मेरो अध्ययनै वाइनसम्बन्धी भएकोले नपिउने भन्ने कुरै हुँदैन । म अल्कोहोलिक होइन् । हामीहरु वाइनको टेष्ट गछौं, टेष्टको आधारमा वाइनलाई एनलाइज गर्नुपर्ने हुन्छ । त्यो मुखमा नहालेसम्म भन्न सकिन्न । त्यसैले कतिपय वाइन जिब्रोमा हालेर फालिन्छ ।

० कसरी बन्दो रहेछ वाइन ?
– सामान्यतया बिभिन्न परिकारको अंगुरलाई केमिकलमा राखेर वाइनमा परिणत गरिन्छ । यो प्रकृया पूरा गर्न कम्तीमा ९ महिनासम्म लाग्न सक्छ । वाइन देख्नमा जति राम्रो र पिउदा मीठो हुन्छ, त्यत्ति नै कठिन तयार गर्न लाग्छ ।

० तपाईले वाइनसम्बन्धी आर्टिकलको प्रँसग ल्याउनुभयो, कस्तो आर्टिकलमा तपाईको रुचि छ ?

– हो मैले वाइन व्यवसायसम्बन्धी अध्ययनको क्रममा बटुलेका अनुभवलाई आर्टिकल र समाचारको रुपमा स्थानीय पत्रपत्रिकामा आर्टिकल लेख्दै आएकी छु । यसलाई वाइन पत्रकारिता भन्दा पनि हुन्छ । वाइनको स्कोप ठूलो छ, विश्व बजारमा वाइनकै क्षेत्रमा ठूल–ठूला लगानी गरेर अध्ययन अध्यापन गर्ने गरिएको छ । मैले लेखेका लेख रचना अंग्रेजी तथा जर्मन भाषामा प्रकाशित छन् ।

० नेपालको सन्र्दमा वाइन व्यसायको भविष्य कस्तो देख्नुहुन्छ ?

– अघिनै भने नि ! नेपालमा वाइन कल्चर नै छैन् । हाम्रो समाजमा वाइन भन्ने बित्तिकै सकरात्मक रुपमा लिइँदैन् । हस्पिटालिटी क्षेत्र वाइन बिना चल्नै सक्दैनन् । अहिले नेपालमा ठूल–ठूला होटलमा अर्वैको लगानी भएका छन् । त्यसभित्र मात्रै वाइनको व्यापार कति ठूलो होला अनुमान गर्न कठिन छ । देशको पैसा वाइनका लागि मात्र अर्बौ विदेशिएको छ । त्यसैले नेपालमा वाइन व्यवसायकोे भविष्य निकै राम्रो छ । जर्मनमा संस्कृत विश्वविद्यालय संचालित छ भने हामी हाम्रो देशमा व्यवसायिक वाइन विश्वविद्यालय किन नखोल्ने भन्ने कुरा पनि आउन सक्छ, होइन् ? यो व्यवसायमा अरुजस्तै प्रशस्त सम्भावना मैले देखेको छु ।

० फुर्सदको समय कसरी बित्छ ?
– हप्तामा सातै दिनजस्तो व्यस्त नै हुन्छु । विदेशमा धेरै च्यालेन्जहरु हुन्छन् । तर पनि समय मिल्यो भने वाइनसम्बन्धी आर्टिकल लेख्छु, गीत लेख्छु । धेरैवटा गीतमा संगीत कम्पोज पनि गरेकी छु । गितारसँग खेल्नु मेरो शौख हो ।

० गीत संगीतमा लागेको कति भयो ?
– मेरो सानै देखिको हवी हो । संगीतलाई पूर्णरुपमा व्यवसायिक बनाउन नसके पनि निरन्तर लागेकी छु । अहिलेसम्म १२ वटा गीत आफैले लेखेकी छु भने ५ वटामा आफैले संगीत भरेकी छु ।

० श्रोताको मन जित्न सफल गीत छन् ?
– ‘जुनेली रात’, ‘तिम्रो त्यो’ लगायतका गीतले सामाजिक सञ्जाल फेसबुकमार्फत धेरै माया पायो ।

० स्टेज शोमा सहभागी हुनुभएको छ ?
– थुप्रै स्टेज शोमा सहभागी भएकी छु । समय मिलाउन निकै कठिन छ । जर्मनीस्थित नेपाली संघसंस्थाको आमन्त्रणमा नेपाली समुदायको लागि गीत गाएकी छु । अहिले सम्म १० वटा भन्दा बढी शो जर्मनीमै गरि सके ।

2
3