१३ बैशाख २०८१, बिहीबार
Follow Us

जिम्मेवारी हेरफेरपछि २ नम्बर प्रदेशमा माओवादीभित्र हलचल

नेपालब्रिटेन डट कम्
१९ श्रावण २०७४, बिहीबार १६:०५

काठमाडौं । २ नम्बर प्रदेशमा उम्मेदवार तोक्ने जिम्मेवारी तोक्ने र अन्य राजनीतिक दलसँग तालमेल गर्ने जिम्मेवारी पाएका नेतालाई नेकपा माओवादी केन्द्रले हटाएको छ । केन्द्रले मधेशका नेतालाई हटाएर पार्टी पदाधिकारीले उक्त जिम्मेवारी लिएका छन् । स्पष्टिकरण नसोधी जिम्मेवारीबाट हटाइएपछि २ नम्बर प्रदेशमा माओवादी केन्द्रभित्र खटपट मात्र सुरु भएको छैन, मधेशका नेताहरु आक्रोसित बनेका छन् । पार्टीले पहिले सिराह र सप्तरीमा उम्मेदवार तोक्ने र अन्य दलसँग तालमेल गर्ने जिम्मेवारी विश्वनाथ साहलाई दिएको थियो । धनुषामा मातृका यादव, महोत्तरी र सर्लाहीमा गिरिराजमणि पोखरेल, रौतहट र बारामा प्रभु साह र पर्सामा उर्मिला अर्याललाई उक्त जिम्मेवारी दिइएको थियो ।
माओवादी केन्द्रले अहिले उनीहरुलाई हटाएर सिराहको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल आफैले लिएका छन् । त्यसैगरी सर्लाहीको नारायणकाजी श्रेष्ठ, महोत्तरीको विश्वभक्त दुवाल, धनुषाको रामबहादुर थापा बादल, पर्साको दिननाथ शर्मा, सप्तरीको चक्रपाणि खनाल, रौतहटको हरिबोल गजुरेल र बाराको डिलाराम आचार्यलाई उम्मेदवारी तोक्ने र अन्य राजनीतिक दलसँग तालमेल गर्ने जिम्मेवारी दिएको छ ।
पहिले जिम्मेवारी तोकेका केही व्यक्ति मन्त्री बनेका छन् । उनीहरुले पार्टीको पछिल्लो निर्णयबारे केही बोलेका छैनन् । तर सिराह र सप्तरीमा उम्मेदवार तोक्ने जिम्मेवारी पाएका विश्वनाथ शाह र धनुषाको उम्मेदवारी तोक्ने र अन्य दलसँग तालमेल गर्ने जिम्मेवारी पाएका मातृका यादवले असन्तुष्टि जनाएका छन् । ‘हामीलाई पहिला किन जिम्मेवारी दिइयो र अहिले एक वचन पनि नसोधी किन हटाइयो, पार्टीको यो घोर आपत्तिजनक निर्णय हो, यादवले भने, ‘पार्टीले दिएको जिम्मेवारी पूरा गर्न दिनरात खटे, तर अहिले हटाइयो । पार्टीले यो न्यायोचित काम गरेन् । पार्टीको यो निर्णयले निर्वाचनमा गम्भीर प्रभाव पार्ने यादवको भनाइ थियो ।
सुनयना राउत