१५ चैत्र २०८०, बिहीबार
Follow Us

विदेशमा मृत्यु भएकाका छोराछोरीले छात्रवृत्ति पाउने

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७४, शुक्रबार ०६:१७

रुकुम । वैदेशिक रोजगारीका क्रममा विदेशमै ज्यान गुमाएका व्यक्तिका छोराछोरीले छात्रवृत्ति पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले त्यस्ता बालबालिकाका लागि छात्रबृत्ति रकम पठाएको छ ।

यहाँका १४ जना छात्रछात्रालाई छात्रवृत्तिबापत रु एक लाख १६ हजारको चेक जिल्ला शिक्षा कार्यालयमा आएको सूचना अधिकारी लालबहादुर घर्तीले बताउनुभयो । एकजना उच्च माध्यमिकमा पढ्ने र १३ जना १ देखि १० कक्षासम्म पढ्ने छात्रछात्रालई उक्त छात्रवृत्ति प्रदान गरिने उहाँले बताउनुभयो ।

सूचना अधिकारी घर्तीका अनुसार उच्च शिक्षा पढ्नेले रु १२ हजार नगद छात्रवृत्ति पाउनेछन् भने अरू १३ जनाले रु आठ हजारका दरले छात्रवृत्ति पाउनेछन् । छात्रवृत्ति पाउनेमा १० छात्रा छन् भने चार छात्र रहेको बताइएको छ ।

छात्रवृत्ति पाउने सबै रोजगारीका क्रममा विदेश गएर उतै मृत्यु भएकाका छोराछोरी हुन् । छात्रवृत्ति पाउने विद्यार्थीको नाम संकलन लगायतका निर्णय भइसकेकाले अबको केही दिनमा छात्रवृत्ति प्रदान गरिने शिक्षा कार्यालयले बताएको छ । यसरी वैदेशिक रोजगारीको सिलसिलामा तेस्रो मुलकमा गएर मृत्यु भएकाका छोराछोरीलाई छात्रवृत्ति आएको यो पहिलो पटक भएको घर्तीले बताउनुभयो ।