१३ बैशाख २०८१, बिहीबार
Follow Us

स्मार्ट फोनले बढायो सम्बन्ध विच्छेद

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७४, शुक्रबार ०६:२१

रोल्पा । रोल्पामा सम्बन्ध विच्छेदका घटना दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । जिल्ला अदालत रोल्पामा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दामा आएको बढोत्तरीसँगै यस्तो अवस्था देखिएको हो ।

सम्बन्ध विच्छेदका घटनामध्ये अधिकांशका श्रीमान् वैदेशिक रोजगारीमा रहेको पाइएको रोल्पा जिल्ला अदालतका मुद्दा फाँटका कर्मचारी दामोदर दाहालले बताउनुभयो । सम्बन्ध विच्छेद गर्दा श्रीमान्बाट अधिकांश महिलाले नगद जिन्सी लगायतका कुनै पनि सम्पत्ति नलिएरै छुटिृने गरेको बताइएको छ । आधुनिक सूचना प्रविधिले धेरै कुरा सहज बनाएको भए पनि सामाजिक विकृतिसमेत थपेका कारण जिल्लामा सम्बन्ध विच्छेदको घटनाले तीव्रता पाइरहेको छ ।

रोल्पा जिल्ला अदालतमा आर्थिक वर्ष २०७२÷७३ मा ३२३ सम्बन्ध विच्छेदका मुद्दा दर्ता रहेकामा आव ०७३÷७४ मा यो सङ्ख्या बढेर ३३३ पुगेको दाहालले जानकारी दिनुभयो ।

स्मार्ट फोनको दुरुपयोग, वैदेशिक रोजगारीमा गएका श्रीमान् लामो समयसम्म घरमा नआउनु, गाउँको बसाइ छाडेर शहरकेन्द्रित हुने प्रवृत्ति बढेसँगै सम्बन्ध विच्छेदका घटनासमेत बढिरहेको अधिवक्ता श्रीमन् पोख्रेलले बताउनुभयो ।