१३ बैशाख २०८१, बिहीबार
Follow Us

पहिरोमा परी तीनको मृत्यु, तीन बेपत्ता

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७४, शुक्रबार ०८:११

बागलुङ । घरमाथिबाट खसेको पहिरोमा परी जिल्लाको निसीखोला गाउँपालिका–२ बाहुनगाउँमा दुईजनाको ज्यान गएको छ । ६३ वर्षीया नन्दकली छन्त्याल र उहाँकी बुहारी २२ वर्षीय बिन्दु छन्त्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छन्त्यालका श्रीमान् ६८ वर्षीय मणिमान छन्त्याल र १८ वर्षीया छोरी गीता छन्त्याल पहिरोमा बेपत्ता भएका छन् ।

घटनास्थलबाट शव निकाल्ने र बेपत्ताको खोजी कार्य जारी रहेको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले जानकारी दिनुभयो ।

यस्तै, पहिरोले घर पुरिँदा ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका ५४ वर्षीय ओमबहादुर विकको ज्यान गएको छ । उहाँकी श्रीमती र छोरी सकुशल रहेको र छोरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार निसीखोला गाउँपालिका–१ हुल्दीमा पनि एक महिला पहिरोमा बेपत्ता भएकी छन् । लालबहादुर सिँजालीको अन्दाजी ६५ वर्षीया आमा (नाम खुल्न नसकेको) बेपत्ता भएको प्रहरीले जनाएको छ ।

भीषण वर्षापछि गएराति ठाउँ–ठाउँमा गएको पहिरोले धनजनको क्षति पु¥याएको हो । “जिल्लाको पश्चिम भेगका थुप्रै ठाउँमा पहिरो गएको छ”, उपरीक्षक खापुङले भन्नुभयो, “घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम गरिरहेको छ, विस्तृत विवरण आउन बाँकी छ ।”

कतिपय ठाउँमा प्रहरी पुग्नुभन्दा पहिल्यै स्थानीय बासिन्दासमेत उद्धारमा खटेको जनाइएको छ । गत वर्ष पनि जिल्लाको पश्चिम भेगमा गएको बाढी र पहिरोले ठूलो क्षति पु¥याएको थियो ।

घटनास्थलमा उद्धार र राहतलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी खटाएको जनाइएको छ । अन्य सामाजिक सङ्घसंस्था पनि राहतका लागि जाने तयारीमा छन् ।