१३ बैशाख २०८१, बिहीबार
Follow Us

आयल निगमको जग्गा खरिद प्रक्रियामा अनियमितता भएको लेखा समितिको ठहर

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७४, शुक्रबार १३:०२

काठमाडौं । सार्वजनिक लेखा समितिले आयल निगमको जग्गा खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको ठहर गर्दै छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको बैठकले जग्गा खरिद प्रक्रियामा अपनाइएका विधि, प्रक्रिया र मूल्यको सम्बन्धमा गम्भीर समस्या देखिएको ठहर गर्दै विस्तृत छानविनका लागि निर्देशन दिएको हो ।
बैठकले जग्गा खरिद प्रक्रियामा अनियमितता भएको पाइएमा खरिद प्रक्रियामा संलग्न सबै जिम्मेवार पक्षलाई आवश्यक कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई चिठी लेखि पठाउने निर्णय गरेको हो ।
पछिल्लो समय निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन मुलुकका ७ प्रदेशमा जग्गा खरिद गर्ने क्रममा हालसम्म झापा, भैरहवा, चितवन, सर्लाहीमा खरिद गरेको जग्गामा करोडौँको घोटला भएको प्रकरण बाहिर आएको छ ।
निगमले खरिद गर्नुपर्ने जग्गा जग्गा प्राप्ति ऐन २०३४ अनुसार नगरी बोलपत्रको माध्यमबाट जग्गा खरिद गरेको हुँदा विधि र प्रक्रियामा समस्या देखिएको समितिको निष्कर्ष छ ।
त्यस्तै खरिद गरिएको जग्गा वास्तविक जग्गा धनीहरूसँग खरिद नगरी दलालामार्फत खरिद गरेको र खरिद गरेका जग्गाका सरकारी दररेट र प्रचलित चलनचल्तिको दररेटभन्दा कयौं गुणा बढी देखिएकोले प्रक्रियागत रूपमा गम्भीर समस्या देखिएको वैठकको निष्कर्श थियो ।