७ बैशाख २०८१, शुक्रबार
Follow Us

राजपा निर्वाचनमा सहभागी नहुने

नेपालब्रिटेन डट कम्
२२ श्रावण २०७४, आईतवार १५:२२

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान संशोधनको प्रस्ताव पारित गरेपछि मात्र स्थानीय तहको निर्वाचनमा सहभागी हुने जनाएको छ । यहाँ आज आयोजित पत्रकारसम्मेलनमा पार्टीका संयोजक महन्थ ठाकुरले संविधान संशोधनको विषय प्रतिपक्ष दललाई विश्वासमा लिएर अनुमोदन गराउने काम सरकारको भएको भए पनि त्यसतर्फ सरकार संवेदनशील नभएको बताउनुभयो ।

उहाँले राजनीतिक निर्णयबाट स्थानीय तहमा सङ्ख्या थप्नुपर्नेमा जोड दिँदै विगतमा मधेशमा भएका विभिन्न आन्दोलनमा मारिएकालाई शहीद, घाइतेलाई औषधि उपचारलगायत पार्टीका माग मन्त्रिपरिषद्बाट पूरा गर्न आग्रह गर्नुभयो ।

यसैबीच, सो पार्टीले आगामी असोज २ गते हुने चुनावमा भाग लिने वा नलिने विषयमा आधिकारिक निर्णय लिनका लागि केन्द्रीय समितिको बैठक आज सुरु भएको छ । यही साउन २५ गतेसम्म जारी रहने उक्त बैठकले पार्टीको घोषणापत्र, विधान र नियामावली पारित गर्नेछ । बैठकमा ८१५ केन्द्रीय सदस्य, भ्रातृ संगठनका प्रमुख तथा जिल्ला अध्यक्ष करिब ३०० गरी एक हजार ११५ जना सहभागी हुनुहुन्छ ।

पार्टीले संविधान संशोधनलगायत माग पूरा नभई स्थानीय लगायतका चुनावमा भाग लिन हुने वा नहुनेबारे ३० समूह बनाएर छलफल गरी आवश्यक निर्णय लिइने युवा संगठन अध्यक्ष रञ्जित सिंहले जानकारी दिनुभयो ।