१३ बैशाख २०८१, बिहीबार
Follow Us

भाग लिए वा नलिए पनि राजपामा विद्रोह

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७४, सोमबार ०५:३०

काठमाडौं । आगामी असोज २ गते हुने प्रदेश २ को निर्वाचनमा मधेस केन्द्रित दलहरू अत्तालिएका छन् । निर्वाचनमा जाने कि नजाने द्विविधामा रहेको राजपा चुनाव सहभागी भए पनि पार्टीभित्रै विद्रोह हुने सम्भावना देखिएको छ, सहभागी नहुँदा पनि विद्रोहको सम्भावना छ ।
दोस्रो चरणको निर्वाचनमा राजपाले भाग नलिएकै कारण कतिपय पालिकामा विद्रोह भएको थियो । ६ वटा पार्टी मिलेर बनेको राजपाले निर्वाचनमा एउटा पार्टी निकट व्यक्तिलाई टिकट दिए पनि अर्को व्यक्तिले उम्मेदवारी घोषणा गर्ने सम्भावना देखिएपछि नेताहरू आत्तिएका हुन् । बागी उम्मेदवारलाई कारबाही गर्न राजपाले सक्ने अवस्था छैन । राजपाले कारबाही गर्नेवित्तिकै कारबाहीमा परेको व्यक्ति तुरुन्तै संघीय फोरम र फोरम लोकतान्त्रिकमा मात्र होइन, एमालेमा समेत प्रवेश गर्ने सम्भावना देखिएको छ । दोस्रो संविधानसभा निर्वाचनमा मधेस केन्द्रित दलहरूले पहिलो संविधानसभा चुनावमा ल्याएको मतभन्दा कम भोट ल्याएका कारण पनि उनीहरूले निर्णय लिन सकेका छैनन् । स्थानीय चुनावमा पनि त्यो भन्दा कम भोट आएमा उनीहरूको बार्गेनिङ पावर सदाका लागि समाप्त हुने विश्लेषण हिजो आइतबार बसेको बैठकले गरेको थियो ।
राजपामा संविधान संशोधन नभई निर्वाचनमा जान नहुने भन्ने पक्षमा राजेन्द्र महतो, अनिल झा, मनिष सुमन, डा.सुरेन्द्र झा र राजकिशोर यादवलगायतका नेता छन् । संशोधन नभए पनि पार्टी संगठन बचाउन स्थानीय निर्वाचनमा भाग लिनुपर्ने पक्षमा महेन्द्र राय यादव, शरतसिंह भण्डारी, हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्तालगायतका नेता छन् । तर, राजपा संयोजक महन्थ ठाकुर कतै खुलेका छैनन् । उनी जता ढल्क्यो त्यही निर्णय हुने सम्भावना छ ।
मधेस केन्द्रित दलहरूले २ नम्बर प्रदेशलाई आफ्नो सबैभन्दा बलियो ठाउँ भएको दाबी गर्दै आएका छन् । मधेसलाई देखाएर उनीहरूले केन्द्रमा सरकारसँग बार्गेनिङ गर्दै आएका छन् । तर २ नम्बर प्रदेशमै अपेक्षाकृत भोट कम आउन सक्ने आशंकाले अहिले राजपालगयतका दलहरू अत्तालिएका छन् । तीन ठूला मधेस केन्द्रित दलहरू संघीय फोरम, लोकतान्त्रिक फोरम र राजपामध्ये दुई फोरमले २ नम्बर प्रदेशमा चुनावी प्रचारलाई तीव्र बनाएका छन् भने राजपा निर्वाचनमा सहभागी हुने या नहुने बारेमा अझै स्पष्ट छैन ।
२ नम्बर प्रदेशमा कसरी चुनावी अभियान सुरु गर्ने भन्नेबारेमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले गत बुधबार पार्टी कार्यालय तनिकुनेमा पदाधिकारी बैठक बोलाएका थिए । बैठकमा उनले २ नम्बर प्रदेशको चुनावलाई जीवनमरणको विषय बनाउन पदाधिकारीहरूसँग आग्रह गरेका थिए । ‘अहिलेसम्म हामीले २ नम्बर प्रदेशमा हामी अघि छौं भन्दै आयौं । तर २ नम्बरमै हामी कमजोर भयौं भने हाम्रो पार्टीको हैसियत सकिन्छ,’ स्रोतका अनुसार गच्छदारले बैठकमा भने, ‘त्यसैले तपाईहरू २ नम्बर प्रदेशको चुनावलाई आफ्नो जीवनमरणको विषय बनाई सक्रिय हुनुहोस् ।’ गच्छदारले २ नम्बर प्रदेशको चुनावमा आफ्नो क्षेत्रबाट चुनाव जिताउने सांसदहरूलाई मन्त्री र केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई एक तह बढुवा गर्ने आश्वासन पनि दिए । गच्छदारले २ नम्बर प्रदेशमा चुनाव जित्न संघीय फोरमलगायका दलहरूसँग तालमेलका लागि वार्ता अघि बढाएका छन् । उनले आगामी साउनको अन्तिम साता महोत्तरीमा २ नम्बर प्रदेशको भेला बोलाएका छन् ।
यस्तै, समस्या संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवलाई पनि परेको छ । यादवले अहिले अधिकांश समय २ नम्बर प्रदेशमै बिताउने गरेका छन् । २ नम्बर प्रदेशका चुनाव जित्न उनले राजपाका स्थानीय कार्यकर्तालाई दिनहुँजसो आफ्नो पार्टीमा भित्र्याउने गरेका छन् । राजपा पार्टी संगठन तहस–नहस गर्न लागेका उनले टिकट दिने आश्वासन दिएका छन् । गत साउन ११ देखि १५ गतेसम्म २ नम्बर प्रदेशको चुनावलाई लिएर यादवले पार्टीको बैठक बोलाएका थिए । बैठकमा उनले २ नम्बर प्रदेशको निर्वाचनलाई पहिलो प्राथमिकता राखेर चुनावी अभियान अघि बढाउन नेताहरूसंग आग्रह गरेका थिए । २ नम्बर प्रदेशमा चुनाव जित्न यादवले पनि विभिन्न पार्टीहरूसँग तालमेल निर्देशन दिएका छन् । फोरमका नेताहरूले २ नम्बर प्रदेशमा ४० सिटसम्म जित्न सक्ने दाबी गरेका छन् । दोस्रो चरणको चुनावमा फोरम चौथौ ठूलो दल भएको छ । यही स्टाटस कायम राख्न पनि उसले २ नम्बर प्रदेशको निर्वाचनलाई प्राथमिकतामा राखेको हो ।
– तरुण खबरबाट