७ बैशाख २०८१, शुक्रबार
Follow Us

को हुन् दाहाल ?

नेपालब्रिटेन डट कम्
१९ श्रावण २०७३, बुधबार १६:१७

काठमाडौं । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्न सौभाग्य पाउनु भएका पुष्पकमल दाहाल दोहो-याएर मुलुकको सर्वोच्च कार्यकारी पदमा आसिन हुन पुग्नु भएको छ । पहिलो यात्रा अनायसै ९ महिनामा टुंग्याउनु भएका दाहालले दोश्रो यात्रामा नेपाली काँग्रेस लगायतका दलको समर्थन पाउनु भएको छ ।
राजनीतिक यात्रामा निकै आरोह अवरोह छिचोल्नु भएका दाहालले प्रधानमन्त्रीमा निर्वाचित भएसंगै सबैलाई समेटेर लाने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
गणतन्त्र नेपालको प्रथम निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री तथा दोश्रोपटक प्रधानमन्त्री चुनिनुभएका एकीकृत ने.क.पा.माओवादीका अध्यक्ष पुष्पकमल दाहाल वि.सं. २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं. २ लेवाडेमा जन्मिनु भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा दाहालले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुर पोखरीमा ग्रहण गर्नुभएको थियो । बिं.सं २०२६मा चितवनको नारायणी विद्या मन्दिर मा.वि. शिवनगरबाट एस.एल.सी. उत्तीर्ण भई २०२९ पाटन बहुमुखी क्याम्पसबाट आई.एस.सी. पूरा गर्नुभएको थियो । दाहालले विसं २०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बि.एस्सी गर्नु भई एम.पी.ए.सम्मको अध्ययन गर्नु भएको छ ।
कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गर्नुभएको थियो । दाहाले वि.सं. २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड गरि धेरै नाम रहेको थियो । वि.सं. २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गा.वि.स.मा बसाइ सराई गर्नु भएका दाहालको वि.सं. २०२६ बैशाखमा सीता पौडेलस सँग विवाह भएको थियोे । उहाँका तीन छोरी र एक छोरा छन् । उहाँ नारायणी विद्या मन्दिर मा.वि.शिवनगर–२०२९ साल, डण्डा मा.वि.नवलपरासी र भीमोदय मा.वि., आरुघाट, गोरखा–२०३३–०३५ सालमा अध्यापन गरी २०३२ सालमा यु.एस.एड.मा सेवारत रहनु भएको थियो । वि.सं. २०२८ मा नेकपा पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गर्नुभएका दाहालले २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वा्चित हुनु भएको थियो ।
उहाँ वि. सं. २०३८ मा क्षेत्रीय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको मह–सचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वा्चित हुनुभएको थियो झण्डै १३ वर्ष भूमिगत जीवन बिताएका उनी २०६२/६३को जनआन्दोलन पछि खुला राजनीतिमा प्रवेश गर्नुभएको हो । दाहाल विसं २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वा्चित हुँदै , २०४२ मा पोलिटब्युरो सदस्यमा रहेर , २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री हुनुभएको थियो । यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री हुनुभएका दाहालले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गर्नुभयो । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष हुनुभयो ।
वि.सं. २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहनुभएका दाहाल २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौमा भूमिगत जीवनबाट सार्वजनिक हुनभएको थियो । २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वा्चित हुनुभएका दाहालले २८० दिन कार्यभार सम्हाल्नुभएको थियो । अध्यक्ष दाहाल २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट निर्वा्चित हुनुभएको थियो । २०७० मंसीरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा ५ बाट निर्वा्चित हुनुभएको थियो । पुष्पकमल दाहाल पुनः व्यवस्थापिका संसदबाट मुलुकको ३९औँ प्रधानमन्त्रीको रुपमा बुधबार निर्वाचित हुनु भएको छ ।