१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रतिनिधिसभाको निर्वाचन भदौ १ भित्रै घोषणा गर्न माग

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७४, सोमबार १४:४८

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनको मिति आगामी भदौ १ गते भित्रै घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितको टोलीले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गरेर उहाँलाई सो सुझाव दिनुभएको हो ।

भेटमा उहाँहरुबीच आगामी निर्वाचनको मिति तोक्ने विषयमा केन्द्रित रहेर छलफल भएको डा यादवले जानकारी दिनुभयो । निर्वाचनका लागि अति आवश्यक कानून र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनका विषयमा पनि आयोगको टोलीले प्रधानमन्त्रीसँग विस्तृत छलफल गर्नुभएको थियो ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउने सन्दर्भमा विद्युतीय मतपत्रको प्रयोग र आवश्यकता सम्बन्धमा आयोगका तर्फबाट प्रधानमन्त्रीलाई अवगत गराएको प्रमुख निर्वाचन आयुक्त डा यादवले बताउनुभयो । छलफल भएका सबैजसो विषयमा प्रधानमन्त्री सकारात्मक रहनुभएको पनि उहाँले जानकारी दिनुभयो ।

निर्वाचनका लागि कानूनी तयारी चाहिने भएकाले कानून र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन यथाशीघ्र उपलब्ध हुनुपर्नेमा आयोगले जोड दिँदै आएको छ ।

नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी माघ ७ गते भित्रै गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

निर्वाचन गर्नुपर्ने तीन तहमध्ये स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भइसकेको तथा तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते प्रदेश नं. २ मा निर्वाचन गर्ने घोषणा गरिएको छ ।

आयोगले प्रदेशसभाको निर्वाचन असोज ३० र प्रतिनिधिसभाको निर्वाचन मंसिरको पहिलो साता गर्न उपयुक्त हुने सुझाव यसअघि सरकारलाई दिइसकेको छ ।

प्रमुख राजनीतिक दलबीच प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै मितिमा गर्न सकिन्छ कि सकिदैन भन्ने बहस पनि चलिरहेको छ । आयोगले दुवै निर्वाचन एकै चरणमा गर्नुपर्दा मतपत्र दुई वटा मात्र कायम हुन आवश्यक छ अन्यथा अहिलेकै संरचनामा एकै पटक दुवै निर्वाचन गर्न व्यवस्थापकीय र प्राविधिक कठिनाइ हुने जानकारी दिइसकेको छ ।