१५ चैत्र २०८०, बिहीबार
Follow Us

तात्यो एनआरएन युकेको चुनाब, आधा दर्जन युवाद्वारा सामूहिक उम्मेदवारी घोषणा

नेपालब्रिटेन डट कम्
२४ श्रावण २०७४, मंगलवार १२:३२

एनआरएन युकेको अधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा पनि बाक्लिँदै गएको छ ।
यसै सन्दर्भमा बेलायतमा सामाजिक क्षेत्रमा सक्रिय आधादर्जन युवाले पत्रकार सम्मेलन गरी विभिन्न पदमा उम्मेदवारी घोषणा गरेपछि यहाँको माहोल एकाएक तातेको छ । अधिवेशन आगामी सेपेटेम्बर ९ मा हुँदै छ ।
यसरी उम्मेदवारी घोषणा गर्नेमा वर्तमान कार्यसमितिका सचिब एवं सक्रिय युवा व्यवसायी कृष्ण तिवारी, साहित्यकार एवं पत्रकार नारायण गाउँले, एकाउण्टिङ्ग क्षेत्रमा कार्यरत युवा महेश गिरी, समाजका विभिन्न गतिविधिमा सक्रिय युवाहरू सञ्जय पन्त, सुरेश परियार तथा प्रकाश न्यौपाने छन् ।

कृष्ण तिवारीले उपमहासचिबमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले एनआरएनलाई व्यवस्थित, लक्ष्यकेन्द्रित र परिणाममुखी बनाउन आफूले उम्मेदवारी दिएको बताए ।

सचिब पदका उम्मेदवार नारायण गाउँलेले भाषासाहित्यको क्षेत्रमा एनआरएनलाई जोड़िराख्न र संस्थागत सुधारका निम्ति आबाज उठाउन आफूले उम्मेदवारी दिएको बताए । विधान मिचेर गत कार्यकालमा दर्जनौं पदाधिकारी थपिएको र संस्थाको गरिमा घटाउने काम भएको भन्दै उनले फेरि संस्थालाई पुरानै चुस्त र स्वाभाविक अवस्थामा फर्काउन आफूले संघर्ष गरेको र सफल भए आफूले उम्मेदवारी फिर्ता लिएर सहयोग गर्ने समेत उनको प्रतिबद्धता रहेको छ ।

लामो समय एकाउण्टिंग क्षेत्रमा बिताएका र समाजसेवामा सक्रिय महेश गिरीले आर्थिक पारदर्शिता र जबाफदेहिताको मुद्दा लिएर सहकोषाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरे ।

बेलायतमा झन्डै डेढ़ लाख नेपालीको बसोबास भए पनि संस्थाप्रति आम जनमानसमा आकर्षण र अपनत्व नरहेको अवस्थालाई परिवर्तन गर्ने सोचसहित सुरेश परियार, सञ्जय पन्त एवं प्रकाश न्यौपानेले सदस्य पदमा आआफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् ।

लण्डनमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष नवीन पोखरेल, वरिष्ठ उपाध्यक्ष श्याम लुइंटेल, सचिब शिव भण्डारी,समाजसेवी बालकृष्ण भूषाल, राजेन्द्र थापा, पत्रकार बाचस्पति रेग्मी, राजकुमार त्रिपाठीलगायतको उपस्थिति थियो ।