८ बैशाख २०८१, शनिबार
Follow Us

पहिरोमा पुरिएका चारैजनाको शव निकालियो

नेपालब्रिटेन डट कम्
२५ श्रावण २०७४, बुधबार ०७:०६

नुवाकोट । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–४ पैरेबेंसीमा अविरल वर्षासँगै गएको पहिरोमा परी हराइरहेका चारैजनाको शव भेट्टिएको छ । आइतबार राति बस्ती माथिबाट पहाड बगेर घर पुरिँदा हराइरहेका धर्मबहादुर थापामगरको शव मंगलबार साँझ भेट्टिएको हो । सुरक्षाकर्मीसहितको उद्धारकर्मीको टोलीले स्काभेटर प्रयोग गरी पहिरो पन्छाएर ७५ वर्षका थापामगरलाई पहिरोले पुरिएको उनको घरबाट शव निकालेको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाइँले जानकारी दिनुभएको छ । पहिरोमा परेका अन्य तीनजनाको शव सोमबार नै निकालिएको थियो ।
पहिरोमा परेर धर्मबहादुरसहित उनकी बुहारी ३३ वर्षकी मुना, नाति चार वर्षका रवीन र उनीहरुको घरमा काम गर्ने सहयोगी ७८ वर्षका भक्तबहादुर नगरकोटीको मृत्यु भएको हो । घाइते भएका चारजनाको भने स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
पहिरोपछि घर पुरिएका १५ परिवार र जोखिममा रहेका १२ परिवार गरी २७ परिवारलाई उद्धार गरी नुवाकोटको शान्तिबजारमा रहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको आवासगृहमा स्थानान्तरण गरिएको छ ।