१३ बैशाख २०८१, बिहीबार
Follow Us

युरोपमा सुखदुखको साथी एनआरएनए

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७३, बिहीबार ०८:०१

कुल आचार्य ।

जहाँ बसे पनि जहाँ रहे पनि हाम्रो मन र मुटुमा नेपाल, केवल नेपाल मात्रै रहेको छ। हामी अहिले जहाँ छौ, जुन अवस्थामा छौं, त्यही माटो, हावा र पानीको योगदान हो भन्ने कुरा निर्विवाद छ। विदेशमा रहेता पनि मातृभूमिका लागि केही गरेर छाडछौं भन्ने अठोटका साथ स्थापित गैरआवासीय नेपाली अभियानमा गएको झण्डै एक दशकदेखि सहभागी हुँदा मैले सिकेका कुराहरु संक्षेपमा यहाँ राख्नए चाहन्छु।

कुनै पनि पद संहालेपछि आफ्नो जिम्मेवारी अनुसारको काम फत्ते गरेरै छाडनु पर्छ भन्ने मेरो विश्वास रह्यो। सन् २००८-०९ मा डमर घलेले अध्यक्षता गर्नुभएको एनआरएन युकेको कार्यसमितिमा मैले सदस्यको रुपमा रहेर काम गर्ने अवसर पाएँ। सन् २००९-११ मा सूर्य गुरुङले अध्यक्षता गर्नुभएको एनआरएन युकेको कार्यसमितिमा उपाध्यक्ष तथा कल्याणकारी समितिको संयोजक भएर काम गरें। त्यसपछि साथीहरुको स्नेह र सहयोगले २०११-१३ को कार्यसमितिमा अध्यक्ष पदमा निर्वाचित भएर काम गर्ने अवसर पनि मैले पाएँ।
यो सम्पूर्ण अवधिमा बेलायतस्थित नेपाली समुदाय, विभिन्न संघसंस्था, नेपाली दूतावास तथा महानुभावहरुबाट प्राप्त सहयोग र उत्साहकालागि म सँधै आभारी छु। नेपाल पत्रकार महासंघ युके शाखासंगको सहकार्यमा पत्रकार कल्याण कोषको स्थापना होस् वा नेप्लीज नर्सिङ एसोसियसन युकेसंगको सहकार्यमा विकट जुम्ला जिल्लामा सुत्केरी सेवा उपलब्ध गराउन बर्दिङ सेन्टर स्थापना गर्ने अभियान, सबै युकेवासी नेपालीहरुको दरिलो सहयोग र प्रोत्साहनबाट मात्र संभव भएको हो। लण्डन ओलम्पिक्समा पहिलो नेपाली ओलम्पियन भूपेन्द्र सिलवाललाई लण्डन निम्त्याउन पाउँदा मलाई साह्रै आनन्द लागेको थियो।

सन् २०१३-१५ मा आइसिसि सदस्य तथा कल्याणकारी एवम् मानवीय सहयोग समितिको सहसंयोजकको रुपमा काम गर्दा साथीहरुबाट प्राप्त सहयोग र सद्भावनाकालागि म आभारी छु। सन् २०१४ मा स्पेनमा सम्पन्न युरोप क्षेत्रीय बैठकमा एनआरएनले बनाउन लागेको बाग्मती शंखमूल पार्ककालागि एकै दिन रु एक करोड ४२ लाख बराबरको सहयोग जुटाउन पाउनु मेरो जीवनकै प्रेरणादायी क्षणहरुमध्ये एक थियो। हाल सन् २०१५-१७ को कार्यकालमा गैरआवासीय नेपाली संघको व्यापार तथा लगानी प्रबर्द्धन समि५तिको संयोजकको रुपमा काम गर्ने मौका पाउनुलाई मैले केही गरेर देखाउने अवसरको रुपमा लिएको छु।
युरोपमा एनआरएन
एनआरएन अभियानमा एक दशकभन्दा लामो संलग्नताका क्रममा मैले बुझेको एउटै कुरा भनेको एनआरएन सन्जाल एउटा पवित्र संजाल हो भन्ने नै हो। जहाँ बसेपनि नेपालीहरु मनका धनी छन् र आफु जन्मेको गाउँठाउँ र जन्मभूमिकालागि सकेको जेसुकै काम गर्न पनि उनीहरु सँधै तत्पर छन् भन्ने मेरो ठम्याइ हो।
अहिले युरोपमा बस्ने नेपालीहरु विभिन्न पेशा, व्यवसायमा आआफ्नो क्षेत्रमा विशिष्ट स्थान बनाएर काम गरिरहनु भएको छ भने कैयौं त्यसै दिशामा अगाडि बढिरहनु भएको छ। तर युरोपका विभिन्न मुलुकहरुमा अद्यापि कायम रहेको आर्थिक मन्दी, आप्रवासी समुदायप्रति बढ्दो रोष तथा अधिकांश पहिलो पुस्ताको प्रवासी नेपाली समुदायले भोग्नु परिरहेका समस्याहरुसंग म नजीकबाट परिचित छु। यसै सन्दर्भमा गत अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौमा सम्पन्न गैरआवासीय नेपाली संघको सातौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट युरोप क्षेत्रीय संयोजकको पदमा निर्विरोध निर्वाचित भएपछि मैले युरोप क्षेत्रका झण्डै एक दर्जन मुलुकहरुको भ्रमण गरिसकेको छु।

युरोप क्षेत्रका साथीहरुसंगको सरसल्लाह र सहयोगका आधारमा गैर आवासीय नेपाली संघको भावना र मर्म अनुरुप युरोप भरिका एनआरएनए एनसिसिहरुसंग समन्वय गरी एनसिसिहरुलाई अरु बढी कृयाशील र सुदृढ तुल्याउन मैले सक्दो भूमिका निर्वाह गरिरहेको छु। त्यसैगरी गैरआवासीय नेपालीहरुले भोग्नुपरिरहेका आप्रवसन, भिसा, एमआरपी लगायतका समस्याहरुका बारेमा संबन्धित एनसिसिहरुसंग समन्वय गरी संबन्धित देशका नेपाली राजदूतावासहरु तथा संबन्धित निकायहरुसंग समेत समन्वयको आधारमा ती समस्याहरुको समाधान गर्ने प्रयास भैरहेको छ।

युरोपमा बसोबास गर्ने नेपालीहरुसंग रहेको क्षमता, सीप र पूँजी नेपालमा लगानी गर्ने वातावरण बनाउन र प्रवासमा नेपाली भाषा, संस्कृतिको जगेर्ना गर्नुका साथै नेपाली समुदायको गौरवपूर्ण पहिचान जोगाइराख्नह योजनावद्धरुपमा अगाडि बढन अब हामीले ढीला गर्नुहुँदैन।
गैरआवासीय नेपाली अभियानमा संलग्न युवा, महिला, जनजाति लगायतका समुदायको हकहित सुरक्षित गरी उहाँहरुको उर्जा रचनात्मक दिशामा लगाउन पनि हामी सबै कृयाशील हुन आवश्यक छ। नेपालमा खासगरी भूकम्प पश्चातको पुनर्निर्माण कार्यमा सबै एनसिसिहरुलाई सकृय सहभागी तुल्याउन पनि खटिरहने मैले प्रण गरेको छु।

युरोपेली संघ छाडने बेलायती जनताको निर्णय पछि एनआरएन युकेको युरोपमा कस्तो भूमिका रहने भन्नेबारे केही आशंकाहरु जन्मिएका छन्। इयु छाडने प्रकृया पुरा हुन झण्डै दुई वर्ष लाग्ने तर त्यो भन्दा अगावै यसबारे गैरआवासीय नेपाली संघले निर्णय गरीसक्नुपर्छ। मेरो व्यक्तिगत विचारमा एनआरएन युकेलाई एनआरएन युरोपको अभिन्न सदस्यको रुपमा अहिले जसरी नै सहभागी गराइराख्नुक उपयुक्त हुनेछ।
अन्त्यमा, जुलाई ३०-३१ मा कोपेनहेगनमा नवौं युरोपेली बैठक तथा सातौं महिला सम्मेलनको सफलताका लागि खटनुहुने सबै साथीहरुलाई हृदयदेखि नै आभार तथा धन्यवाद ज्ञापन गर्न चाहन्छु।

(गत सप्ताहान्तमा कोपेनहेगनमा आयोजित गैरआवासीय नेपाली संघको नवौं युरोपेली क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलनका अवसरमा प्रकाशित स्मारिकाबाट साभार- सं.)