१३ बैशाख २०८१, बिहीबार
Follow Us

स्वाइनफ्लुबाट हालसम्म १० को मृत्यु

नेपालब्रिटेन डट कम्
२५ श्रावण २०७४, बुधबार १३:३८

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी (स्वाइनपफ्लु) का कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिनुभएको छ ।

उहाँले एकजना चिकित्सकलाई सो रोग लागी निको समेत भएको जनाउँदै फ्लुले महामारी रुप भने नलिएको तथा रोकथामका लागि मन्त्रालय प्रतिबद्ध भएको बताउनुभयो । मन्त्री पोखरेलले देशका सबै स्वास्थ्य संस्थालाई रुघारोकीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाउँदै आवश्यक सचेतना र नियन्त्रणका लागि सांसद, सञ्चारकर्मी र सबै सरोकारवाला पक्षमा आग्रह गर्नुभयो ।

बैठकमा सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले विधेयक तयार गर्दा कार्यपालिकाले हस्तक्षेप नगर्न आग्रह गर्नुभयो ।

उहाँले संसद्को प्रक्रिया र मर्यादालाई पालन गर्नेतर्फ संसद्ले बोल्नुपर्ने धारणा राख्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रीले आगामी दिनमा संसद्को मर्यादा राख्न सभामुखबाट रुलिङ हुनुपर्छ भन्नुभयो । सभामुख ओनसरी घर्तीले साउन २२ गतेको बैठकमा सो विषयमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभयो ।