१५ चैत्र २०८०, बिहीबार
Follow Us

राप्रपाको प्रदेश अधिवेशन भदौमा

नेपालब्रिटेन डट कम्
२६ श्रावण २०७४, बिहीबार ०५:४६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सातै प्रदेशमा संगठन समायोजन गर्ने उद्देश्यले आगामी भदौमा प्रदेश अधिवेशन गर्ने भएको छ ।
संविधानअनुसार नयाँ संरचनामा पार्टी संगठनलाई सुदृढ बनाउन सातै प्रदेशमा नयाँ नेतृत्व प्रदान गर्न अधिवेशन गर्न लागिएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

तत्कालीन राप्रपा–नेपाल राप्रपासँग एकीकरण भएपछि चाँडो सो अधिवेशन गर्ने भनिएको भएपनि आन्तरिक द्वन्द्वका कारण अहिलेसम्म हुन सकेको थिएन । प्रदेशको अधिवेशनपछि देशका ७४४ स्थानीय तहमा पार्टीले सांगठनिक संरचना तयार गर्ने र विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्नेछ ।

प्रत्येक प्रदेशमा अध्यक्षको नेतृत्वमा नौजना रहेको परिषद् गठन गरिनेछ । प्रदेशमा ६० प्रतिशत निर्वाचनबाट प्रतिनिधि छनोट गरिनेछ भने ४० प्रतिशत अध्यक्षले मनोनयन गर्ने गरी गृहकार्य भइरहेको छ । सो अधिवेशनका लागि तिथि भने अझै निश्चित भइसकेको छैन ।

पार्टीले स्थानीय तहको दुईवटा निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि नयाँ रणनीति बनाएर आगामी स्थानीय तह तथा प्रादेशिक र केन्द्रीय चुनावमा प्रतिस्पर्धा गर्ने जनाएको छ ।

आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहमा धेरै स्थानमा सफलता प्राप्त गर्न शीर्ष नेतृत्व त्यसतर्फ केन्द्रित गरिनेछ । पार्टीले स्थानीय तहमा अन्य दलको अवस्था मूल्यांकन गरी तालमेलसमेत गर्ने जनाएको छ ।