१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन झगडियाहरुको एउटा झुण्डमा परिणत

नेपालब्रिटेन डट कम्
२६ श्रावण २०७४, बिहीबार ०६:४९

गैरआवासीय नेपाली संघ (एनआरएन) अर्थात् प्रवासी नेपालीको छाता संगठन । अझ भनौं, सपनाको खोजीमा विदेशी मुलुकमा संघर्षरत गरेका लाखौं नेपालीहरुको साझा प्लेटफर्म । त्यस्तै, नेपालमा बस्ने तमाम नेपालीहरुको बुझाईमा यो धेरै पैसा कमाउने मानिसहरुको बृहत नेटवर्क । स्थापनाका समयमा एनआरएनप्रति नागरिकको अपेक्षा निकै थियो । प्रवासमा रहका लाखांै नेपालीहरुलाई संगठन गर्ने, उनीहरुको समस्यालाई समाधान गर्ने तथा विदेशमा उनीहरुले आर्जनको श्रम, सिप र पुँजीलाई नेपालमा भित्र्याउने अभिष्ठ बोकेको यसको उद्देश्य पवित्र नै थियो । संगठन स्थापनाको समयदेखि नै यसले नागरिकहरुमा एकप्रकारले आशाको रक्त संचार गरेको थियो ।
तर विगत एक दशकको एनआरएन गतिविधिबाट मुलुकले अपेक्षाकृत प्रतिफल पाउन असमर्थ भएको छ । एनआरएनप्रति नागरिकहरुको आस्था धर्मराउँदै गएको छ । उनीहरुको आँखामा एनआरएन ठूलाठूला गफ गर्ने गफाडीहरुको अन्तर्राष्ट्रिय क्लबभन्दा माथि उठन् नसकेको प्रतित हुँदैछ । विगत डढे दशकदेखि एनआरएनबाट भए गरेका उपलब्धीलाई हेर्ने हो भने निराशाजनक र प्रचारमुखी मात्र देखिएका छन् । आवद्धताका हिसाबले हेर्ने हो भने एनआरएनभित्र बिशेष गरेर दुई प्रकारका मानिसहरु संगठित भएका देखिन्छन् ।
पहिलो हो भूतपूर्व नेपाली जो विदेशमा बस्छन्, विदेशी नागरिकता समेत लिइसकेका छन् तर नेपालसँगको सम्बन्ध कायम रहिरहोस् भन्ने चाहन्छन् । अनि नेपाल जाँदा कानुनी व्यवधान नपरोस् र नेपालमा पनि वैधानिकरुपमा सम्पत्ती राख्न पाइयोस भन्ने ध्येय राख्छन् । अर्काथरी मानिस जो विदेश बसेर पनि विदेशी नागरिकता लिएका छैनन् वा लिने बेला भएका छैन, उनीहरु नेपालमा फर्केर पुनः साविकको दैनिकी चलाउने, व्यवसाय गर्ने, सरकारी जागिर खाने वा राजनीति गर्ने ध्यये राख्छन् अर्थात् वर्तमान नेपाली ।
यसरी दुई फरक पात्र र प्रवृत्तिका मानिसहरुको छासमिसे सांगठनिक स्वरुपको रुपमा रहेको एनआरएनबाट मुलुकले भने आर्थिक सामाजिक, सांस्कृतिक तथा शैक्षिक हितको अपेक्षा राखेको छ, जुन यी दुवैथरीको वर्तमान चरित्रबाट सम्भव देखिंदैन । यिनीहरुको कार्यनीति, रणनीति र लक्ष्य मुलुकले लिएको अपेक्षासँग मेल खाएको देखिदैन । हजारौका संख्यामा वर्षेनी नेपालीहरु विदेश गइरहन्छन् । उनीहरुको आशाको त्यान्द्रो भने कै चिनेजानेका साथीभाइ र संगठनका हिसाबले एनआरएन नै हो । तर उनीहरुको यो अपेक्षा विदेशी भूमिमा झरेको केही दिनभित्र नितान्त फोस्रो सावित हुन्छ ।
विदेश आउने नेपालीहरु चाहे विद्यार्थी हुन् वा स्थायी बसोबासकर्ता, उनीहरुलाई त्यहाँको समाज सुहाउँदो परामर्श, पुनस्र्थापना र सहयोग गराउन पहल गर्नुपर्नेमा, एनआरएनका पदाधिकारीहरु आफैै सार्वजनिक मञ्चको खोजीमा तल्लिन रहेका जस्ता देखिन्छन् । लाग्छ, उनीहरु सबै आफ्नै बजारीकरण गर्न, भविष्यका निम्ति आफ्नो स्थान सुरक्षित गर्न र विदेशमा आफ्नै सञ्जाल बिस्तार गर्न व्यस्त छन् । विगतको दश बर्षको अभ्यासलाई उपलब्धिको कसीमा दाँज्ने हो भने यो संगठन नेपाल बनाउनेभन्दा पनि विदेश बसेर नेपालको नाम भजाएर विदेशीसँग नजिकिने अनि नेपालमा आएर ठूलाठूला गफ दिनेहरुको संगठन बन्दै गए जस्तो प्रतित हुँदैछ ।
को सही र को गलत भन्ने सवालमा उनीहरुको आआफ्नै दलिल होला तर यसबाट मुलुकले पाउनेभन्दा बढी गुमाउने काम भइरहेको छ । यसरी एनआरएन कै कारणबाट प्रवासमा नेपालीहरु झनै विभाजित जस्ता बन्न पुगेका छन् । सामाजिक हितका काम गर्नुका अलावा यसैको ‘फोरम’ प्रयोग गरेर आफ्नो उचाई निर्माणमा लागिपरेको जस्तो देखिदैछ । वर्तमान प्रवासी नेपाली पुस्ताका प्रतिनिधि पात्रहरु जो दिनभर निर्वाहमुखी श्रम गर्छन् तर नेपालमा रहेका आफ्नै वरिपरिका तथा चिनजानका मानिसहरुलाई आफू एनआरएनको पदाधिकारी भएको तथा मुलुकको विकासको निम्ति आफुसँग प्रशस्त श्रोत, साधन, पूँजी, प्रविधि तथा योजना भएको अनि विदेशी राजनैतिक नेतृत्वसँग आफ्नो पहुँच भएको नाटक प्रदर्शन गर्छन् ।
आजसम्म एनआरएनको समग्र स्वरुप यस प्रवृत्तिबाट माथि उठ्न सकेन । एउटा गाविसले आफ्नो वडामा गरे जत्ति पनि काम एउटा मुलुकमा गठित एनआरएनले गर्न सकेको छैन ।
एनआरएनमा शक्ति हत्याउने र भैरहेको शक्ति नछोड्ने भिडन्तका कारण नेपालीहरु विदेशी भूमिमा संगठित होइन बरु छिन्नभिन्न प्रायः भएका छन् । अझ हुँदाहुँदा हामी आपसमा मिल्न सकेनौं, हामीलाई मिलाई दिन प¥यो भन्दै विदेशी अदालतको कठघरासम्म एनआरएन पुगिसकेको अवस्था छ । एनआरएन क्यानाडाको वर्तमान चुनावमा सदस्यहरु भोटर हैन बरु वादी र प्रतिवादी जस्तै अदालतको कठघरामा उपस्थित हुने अवस्थामा पुगे । अहिले एनआरएन अमेरिकामा उम्मेदवारको विवाद हेर्नुहोस्, विश्लेषण गर्नुहोस् । को सही र को गलत भन्ने सवालमा उनीहरुको आआफ्नै दलिल होला तर यसबाट मुलुकले पाउनेभन्दा बढी गुमाउने काम भइरहेको छ ।
यसरी एनआरएन कै कारणबाट प्रवासमा नेपालीहरु झनै विभाजित जस्ता बन्न पुगेका छन् । अविश्वास र कटुताको जगमा निर्माण गरिएको संगठनबाट हामीले हार्दिकता र सदाचार पाउने कुरा कल्पना गर्न सक्तैनौ । यस्तै हर्कतका कारण राष्ट्रले यसलाई प्रवासमा रहेको आफ्नो शक्तिको रुपमा लिन पाएन । बरु यसको ठीक विपरित एनआरएन झगडियाहरुको एउटा झुण्डमा परिणत भयो ।
माधव दाहाल/गोरखा एक्सप्रेस