१५ चैत्र २०८०, बिहीबार
Follow Us

समितिबाट चिकित्सा शिक्षा विधेयक पारित

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७४, शुक्रबार १४:५२

काठमाडौं । व्यवस्थापिका–संसद्, महिला, बालिबालिका ज्येष्ठ नागरिक समितिले चिकित्सा शिक्षा विधेयक २०७३ आज पारित गरेको छ ।

समितिको सिंहदरबारमा बैठकले संशोधनसहितको अन्तिम विधेयक पेश गर्न गठित कार्यदलले बिहीबार पेस गरेको प्रतिवेदनमा रहेको विवादित दफा पुनःसंशोधन गर्दै पारित गरेको हो । कार्यदलले बुझाएको प्रतिवेदनको दफा ५ घमा ‘ऐन प्रारम्भ हुनुअघि सम्बन्धित निकायबाट अनुमति प्राप्त गरी मेडिकल, डेन्टल वा नर्सिङ विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने पूर्वाधार तथा मापदण्ड पूरा गरिसकेका शिक्षण संस्थालाई यसबमोजिम अनुमति दिन बाधा पर्ने छैन’ उल्लेख गरिएकामा ‘यसै ऐनबमोजिम…’ भनेर संशोधन गरिएको छ ।

समितिका सभापति रञ्जुकुमारी झाले विधेयक माथेमा कार्यदलकै मर्मअनुसार बनेको तर त्यही वाक्यांश राख्नका लागि अन्य कानूनसँग नबाझिई मिलाउने गरी विधेयक पारित भएको बताउनुभयो । समितिले पारित गरेको विधेयक मंगलबार बस्ने संसद् बैठकबाट पारित गर्नका लागि उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले प्रस्ताव गर्नुहुनेछ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान बालुवाटारमा प्रा डा केसीको माग र चिकित्सा विधेयकका सम्बन्धमा सरोकार भएकाहरुसँग सहमति गरी समाधान खोज्न आग्रह गर्नुभएको थियो । प्रा डा केसी चिकित्सा शिक्षा विधेयक पारितलगायत विभिन्न माग राख्दै १९ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा आमरण अनशनमा हुनुहुन्छ ।

उहाँको स्वास्थ्य गम्भीर बन्दै गएपछि पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलगायतको पहलमा बैठक बसेको थियो ।

सो बैठकमा शिक्षामन्त्री श्रेष्ठ, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, पूर्वशिक्षामन्त्री धनीराम पौडेल, समाजकल्याण समितिका सभापति झा, माथेमा कार्यदलका संयोजक प्रा केदारभक्त माथेमा, चिकित्सा विधेयक कार्यदलका कार्यकारी उपाध्यक्ष डा भगवान कोइराला, डा अर्जुन कार्की, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र डा केसीका वार्ता टोलीका सदस्य सहभागी हुुनुहुन्थ्यो ।