१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पूर्वी क्षेत्रमा बाढीले दुई दर्जनभन्दा बढीको ज्यान लियो

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७४, शनिबार १०:४६

काठमाडौं । पूर्वी क्षेत्रमा विगत ३ दिनदेखि आएको अविरल वर्षाले दुई दर्जन बढीको मृत्यु भएको छ । झापा, मोरङ, सुनसरी तथा पूर्वी पहाडी जिल्लामा वर्षाले २५ जनाको ज्यान लिइसकेको छ । गृहमन्त्रालयका अनुसार अहिलेसम्म बाढी र पहिरोमा परेर २३ जनाको ज्यान गएको छ भने चार जना हराइरहेका छन् । मन्त्रालयले उपलब्ध गराएको तथ्यांकभन्दा अझ धेरैको ज्यान गइसकेको बताइएको छ । बाढीले विजुली र सञ्चार पूर्णरुपमा ध्वस्त भएको छ । पूर्व–पश्चिम राजमार्गको तीनवटा पक्की पुलहरु बगेका छन् । गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट जिल्ला पूर्णरुपमा डुबानमा परेका छन् ।

इटहरीमा सात जनाको शव पानीमा भेटियो
सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा अत्यधिक वर्षाका कारण आज पानीमा डुबेको अवस्थामा ७ जनाको शव फेला परेको छ ।
भोजपुर घर भई हाल इटहरी–४ को गौंरीगाउँमा डेरा लिई बस्ने माया राईकी दुईवटा सन्तान मृत अवस्थामा फेला परेका छन् । उहाँकी ८ वर्षीया छोरी रुप्सनी, तीन वर्षीय छोरा रुपेश मृत अवस्थामा फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
त्यस्तै, इटहरी–४ को आइतबारे बस्ने वर्ष ४० का ईश्वर सुनवार, इटहरी–४ को गौंरीगाउँ बस्ने वर्ष ३० की माला साह, उनकी १० वर्षीय छोरी सिटी, इटहरी–२० मा बस्ने अन्दाजी ७५ वर्षीय एक वृद्ध र इटहरी–९ मा ३०-३५ वर्षकी एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।