७ बैशाख २०८१, शुक्रबार
Follow Us

महासङ्घको महाधिवेशनको तयारी पूरा

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७४, शनिबार १३:३५

काठमाडौं । पत्रकारको छाता संगठन नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनको तयारी पूरा भएको छ । आगामी भदौ ४ र ५ गते ‘व्यावसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा हुने महाधिवेशनको तयारी पूरा भएको महासङ्घका महासचिव उजिर मगरले जानकारी गराउनुभयो ।

महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष–२ महासचिव, सचिव–६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । यसपटकदेखि दलित, मधेशी सचिव थपिएको छ । महाधिवेशनले महासङ्घलाई संघीय संरचनामा लैजाने छ ।

सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान र एशोसिएटसहित १० प्रदेशमा नयाँ नेतृत्व चयन गरिने छ । प्रत्येकबाट दुईजना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको महासचिवले बताउनुभयो ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु हुनेछ । महाधिवेशनको निम्ति नौ विभिन्न उपसमितिले तयारी पूरा गरेको महासचिव मगरले बताउनुभयो ।

महाधिवेशनमा करिब एक हजार ५०० प्रतिनिधि सहभागी हुनेछन् । बाहिरबाट आउने करिब एक हजार प्रतिनिधिलाई खान र बस्नका लागि होटलको व्यवस्था गरिएको छ । सुन्धारा, बागबजार, सोह्रखुट्टेका करिब ३०० होटेल बुकिङ गरिएको उहाँले जानकारी गराउनुभयो ।

महासङ्घले पत्रकार दुर्घटना बिमा र ज्येष्ठ पत्रकार सुरक्षाजस्ता लोकप्रिय कार्यक्रम सञ्चालन गरेको छ । महासङ्घमा करिब १० हजार पत्रकार आबद्ध रहेका छन् ।