१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रधानमन्त्री दाहालद्वारा शपथ ग्रहण

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७३, बिहीबार १२:४६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । नवनिर्वाचित प्रधानमन्त्री दाहालले देश र जनताका नाममा शपथ लिनुभएको थियो ।
विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश सुशीला कार्की,सभामुख ओनसरी घर्ती, पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री, पूर्व उपराष्ट्रपति एवम् मन्त्रीहरु, संवैैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ कर्मचारी, कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, उद्योगी व्यवसायीलगायत उपस्थित हुनुहुन्थ्यो ।
शपथ ग्रहण समारोहपछि प्रधानमन्त्री दाहालको सम्मानमा राष्ट्रपति भण्डारीले शीतल निवास परिसरमा चियापानको आयोजना गर्नुभएको थियो । व्यवस्थापिका–संसद्मा बुधबार भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो ।
यस्तै राष्ट्रपति भण्डारीले आजै उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई पनि पद तथा गोपनीयताको शपथ गराउनुभयो । त्यसैगरी राष्ट्रपति भण्डारीले रमेश लेखक, गौरीशङ्कर चौधरी र दलजीत श्रीपालीलाई मन्त्री पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

सपथ लिन अर्जुननरसिंह केसी गएनन
गृहमन्त्री नपाएको भन्दै नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी सपथ लिन गएनन् । प्रचण्ड सरकारमा कांग्रेसले पहिलो चरणमा पठाएको तीन मन्त्रीमा केसीको पनि नाम थियो । उनको मन्त्रालय भने तोकिएको थिएन ।
पार्टी सभापति शेरबहादुर देउवाले उनलाई रक्षा वा स्वास्थ्य मध्ये एक रोज्न भनेका थिए । तर, केसीले गृह नपाएसम्म सरकारमा नजाने जवाफ दिएको उनका सहयोगी सरोज केसीले जानकारी दिए । देउवाले भने सरकारमा पार्टीको नेतृत्व गर्ने गरी विमलेन्द्र निधिलाई उपप्रधान एवं गृहमन्त्री दिएका छन् ।