१५ बैशाख २०८१, शनिबार
Follow Us

एकै परिवारको छ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
२९ श्रावण २०७४, आईतवार १३:४८

गौर । परोहा गाउँपालिकाको राजपुर फरहदवामा बाढीले बाटो कटान गरेको स्थानमा आज बिहान सुत्केरी महिला बोकेको जिप दुर्घटना हुँदा एकै परिवारका छ जनाको मृत्यु भएको छ । प्रसूति गराउन राजपुर फरहदवा स्वास्थ्य संस्थामा लौजाने क्रममा परोहा गाउँपालिका– ३ लौकाहा निवासी चन्दन यादवको घरपरिवारका सदस्यको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आकस्मिक अवस्थामा रहेका यादवको २८ वर्षीया श्रीमती शर्मिला यादवलाई अस्पतालमा सुरक्षित प्रसूति गराउन उनकी आमा सुमित्रादेवी, पाँचवर्षीया छोरी छोटुकुमारी, भतिजा सरोज र भाउज्यू ललितादेवीसहित चढेको भारतीय जिप नै कटान भएको बाटामा दुर्घटना भएको स्थानीयवासी शेष वकिलले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय राजपुरफरहदवा नजिक शनिबार वर्षाको पानीले एक सय मि बम नहर कटान गरेको थियो र सोही कटानमा आज उनीहरु चढेको जिप दुर्घटना भएको जनाइएको छ । उक्त जिपका चालक फरार रहेका छन् ।
यसैबीच देवाही गोनाहीमा एक वृद्धाको मृत्यु भएको प्रहरीले बताएको छ । सो क्षेत्रमा लाल बकैया नदीले कटानी गरेपछि साविक देवाही गाविस र करुनिया गाविसका– तीन वडाका बासिन्दा बाढीको घेरामा परेका छन् ।

यसैबीच नेकपा (माओवादी केन्द्र)ले बाढी प्रभावित क्षेत्रमा आजदेखि राहत वितरण शुरु गरेको छ । केन्द्रले आज चन्द्रपुर नगरपालिकाका बालचनपुर, बलुवा, घाँगीटोल, पडरियामा राहत वितरण गरेको माओवादी केन्द्रले जनाएको छ ।