१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बाढीपीडितको सहयोगमा जुट्न विश्वभरिका नेपालीलाई एनआरएन उपाध्यक्ष पन्तको अाह्वान

नेपालब्रिटेन डट कम्
२९ श्रावण २०७४, आईतवार ११:०५

लन्डन—गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी उपाध्यक्ष एवं परोपकार तथा मानवीय सहायता समितिका संयोजक कुमार पन्तले नेपालमा बाढी र पहिरोबाट पीडित बनेकाहरुलाई सहयोग गर्न विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीलाई आह्वान गरेका छन्। आइतबार एक एक अपिल जारी गर्दै उनले मानवीय संकटको यो घडिमा सहयोगी भूमिका निर्वाह गर्नु कर्तव्य भएको उल्लेख गरेका छन्।

मातृभूमिमा आइपरेको यो विपत्प्रति गैरआवसीय नेपाली संघ परोपकार तथा मानवीय सहायता समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै विपतको यो घडिमा एकजुट हुन उनले अनुरोध गरेका छन्।
तीन दिनदेखि लगातार भइरहेको अवरिल वर्षाका कारण पहाडी जिल्लामा पहिरो र तराईका जिल्लामा बाढीबाट कम्तिमा ४० जनाको मृत्यु भइसकेको छ। हजारौं घर डुबानमा परेका छन्।

‘विद्युत् आपूर्ति केन्द्रमा बाढी प्रवेश गर्दा कतिपय जिल्ला विद्युतबिहीन बन्न पुगेका छन्। ती ठाउँमा विद्युत् अभावमा मोबाइल चार्ज गर्नसक्ने अवस्थासमेत छैन’, उपाध्यक्ष पन्तद्वारा जारी अपिलमा भनिएको छ, ‘बाढीले घर डुबाउँदा स—सना नानीका आमाहरु बच्चा बोकेर रुखमाथि चढेर ज्यान बचाउन विवश छन्। अविरल वर्षासँगै आएको बाढीले ती क्षेत्रमा एक किसिमले मानवीय संकट उत्पन्न गराएको छ।’ अाफ्नो अार्थिक हैसियतअनुसार परोपकारी यो कार्यमा समाहित हुन उनले अनुरोध गरेका छन्।

राहत कोषमा १ लाख

मातृभूमिमा आइपरेको यो विपत्प्रति गैरआवसीय नेपाली संघ परोपकार तथा मानवीय सहायता समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै विपतको घडिमा एकजुट हुन उनले अनुरोध गरेका छन्। बाढीपीडितका लागि उनले एनआरएनए राहात कोषमा १ लाख रुपैयाँ सहयोग रकम समेत जम्मा गरेका छन्।

‘बाढीपीडित दाजुभाइ दिदीबिहनीहरुलाई उद्दारसँगै तत्काल स्वच्छ खानेपानी, खाद्यान्न एवं लत्ताकपडा पुर्‍याउनु पर्ने कर्तव्य हामी सामु खडा भएको छ। सो कर्तव्य बोध गर्दै म व्यक्तिगत रुपमा रु. १,००,००० (एक लाख रुपैयाँ) सहयोगको घोषणा गर्दछु। साथै विश्वभर छरिएर रहेका सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरुबाट मानवीय सहयोगका लागि अपेक्षा गर्दछु’, उनले भनेका छन्।

बाढी पीडितका लागि प्रतिबद्धता गरेको रकम गैरआवासीय नेपाली संघ, एनआरएनए च्यारिटी फन्डको बैंक अफ काठमाण्डूको कमलादी शाखाको अकाउन्ट नं. 062500000144 मा जम्मा गरिदिन उनले अनुरोध गरेका छन्। सो बैंकको स्विफ्ट BOKLNPKA रहेको छ।

गैरअावासीय नेपाली संघ यसअघिको विपत्ति महाभूकम्पमा समेत तत्काल रातहतका लागि खटिएको थियो।

बाढीपीडितका लागि एनआरएन अध्यक्ष घलेद्वारा १ करोड सहयोग