८ बैशाख २०८१, शनिबार
Follow Us

बाढी पहिरोले ७० भन्दा बढीको ज्यान लिइसक्यो, ५० जना अझै बेपत्ता

नेपालब्रिटेन डट कम्
३० श्रावण २०७४, सोमबार ०६:१०

काठमाडौं । शुक्रवारदेखि परेको अविरल वर्षाका कारण तराईका विभिन्न जिल्लामा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । ५० भन्दा बढी सम्पर्कमा नरहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गृहमन्त्रालयले गरेको छ ।

गृहमन्त्रालयका अनुसार सुनसरीमा ८ जनाको मृत्यु भएको छ भने रौतहटमा ७ , मोरङमा ५ र झापा ४ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन केन्द्रका अनुसार १३ जना घाइते भएका छन् । बाढी तथा पहिरोका कारण ३ सय ५ घरमा क्षति पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख रहेको छ । पूर्वको पाँचथरमा १ जना, सिन्धुलीमा ४ जना, सर्लाहीमा ३ जना, बारामा २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दाङमा २ जना, बाँकेमा ४ जना, सुर्खेतमा ३ जनाको मृत्यु भएको छ । मन्त्रालयले हालसम्म उद्धार गरिएकाहरुमध्ये १३ जना घाइते रहेको जनाएको छ ।

गृह मन्त्रालयले बाढी पहिरो र डुबान पीडितको उद्धार तथा राहतका लागि एक करोड ९८ लाख रुपैयाँ निकासा गरेको छ । मन्त्रालयले हिजो आइतबार तराई क्षेत्रको अनुगमन गरेपछि राहतका लागि रकम निकासा गरेको हो ।

बाढी र डुबान प्रभावित क्षेत्रको अवलोकन गरेर काठमाडौं फर्किएलगत्तै गृहमन्त्री जनार्दन शमार्ले रकम निकासा गर्नुभएको हो । त्यसैगरी गृहमन्त्रालयमा प्रहरी नायव उपरीक्षक डिआईजीको नेतृत्वमा कमाण्ड पोष्ट गठन गरिएको छ । देशभरबाट सूचना संकलन, विश्लेषण र समन्वय गरी प्रतिवेदन तयार पारेर सरकारलाई दिनेछ ।