१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कीर्तिमानी गौरिकालाई नेपालमा खेल्न नदिने पौडी संघकाे खेल

नेपालब्रिटेन डट कम्
३० श्रावण २०७४, सोमबार ०७:५०

कीर्तिमानी स्वीमर गौरिका सिंहलाई अस्वाभाविक रूपमा नेपाल पौडी संघले रोक्ने प्रयास गरिरहेको छ । सीमित स्पर्धामा मात्र खेल्न पाउने विश्वमै कतै नभएको नियम लागू गर्नेदेखि प्रतियोगिता सार्नेसम्म हर्कत संघले गरिरहेको खबर कान्तिपूर अनलाइनमा छ ।

१२ औं दक्षिण एसियाली खेलकुद (साग) मा एक रजत र तीन कांस्यसहित कीर्तिमान चार पदक जितेकी १४ वर्षीया गौरिका परिवारसँगै लन्डनमा बस्छिन् । गत वर्ष ब्राजिलमा भएको रियो ओलम्पिकमा सबैभन्दा कम उमेरकी खेलाडीका रूपमा विश्वमै चर्चामा आएकी उनी उतै प्रशिक्षण गर्छिन् ।

पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले राष्ट्रिय प्रतियोगिता भदौ १ गतेदेखि हुने तीन महिनाअघि जानकारी गराएका थिए । त्यसैले गौरिका बेलायतमा इङलिस एज ग्रुप च्याम्पियनसिपको फाइनल चरण र ब्रिटिस ओपन वाटर च्याम्पियनसिप छाडेर दुई वर्षपछि स्वदेशमा प्रतिस्पर्धा गर्ने योजना बनाएर २२ साउनमा स्वदेश फर्किइन् ।

नेपाल पौडी संघले साउन ३१, ३२ र भदौ १ गते सातौं ‘एनएसए कप स्वीमिङ च्याम्पियनसिप’ आयोजना गर्ने भन्दै सातदोबाटोस्थित पौडी परिसरमा एक महिनाअघि नै ब्यानर टाँगेको थियो । त्यसमा खेलाडीले नाम दर्ता गर्ने अन्तिम मिति २६ साउन तोकिएको थियो ।

च्याम्पियनसिप नजिकिँदै जाँदा प्रतियोगिता नै एक महिना पछाडि सार्ने पौडी संघकै केही पदाधिकारीहरूले बताइरहेका थिए तर औपचारिक रूपमा केही भनेका थिएनन् । त्यसैले गौरिकाले प्रतियोगितामा सहभागी हुन ‘प्रवेश फारम पाऊँ’ भनी संघ, राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयमा निवेदन दिइन् ।

चर्को आलोचना बेहोर्न थालेपछि पौडी संघको बैठकले शुक्रबार ‘राष्ट्रिय पौडी प्रतियोगिता’ भदौ पहिलो साता गर्ने निर्णय गर्दै उपाध्यक्ष गीता राणाको संयोजकत्वमा आयोजक समिति बनायो । आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता भदौ १ र २ गते सञ्चालन गर्ने उल्लेख गर्दै राणाले प्रतियोगितालाई समावेशी बनाउन एक खेलाडीले चार स्पर्धामात्र खेल्न पाउने बताइन् ।

‘प्रतियोगितामा समावेशीका लागि पनि एक खेलाडीले चार स्पर्धासम्म प्रतिस्पर्धा गर्न पाउने नियम ल्याएका छौं किनभने एउटै खेलाडीले सबैमा भाग लिने अनि जित्ने नहोस्,’ सांसदसमेत रहेकी गीता राणाले भनिन् ।

अन्तर्राष्ट्रिय पौडी संघ (फिना) विश्वको सर्वोच्च संस्था हो, जसले पौडी प्रतियोगिता र संघलाई नियमन गर्छ । उसको नियमअनुसार विश्व च्याम्पियनसिप, ओलम्पिकदेखि कुनै पनि प्रतियोगितामा सहभागी खेलाडीले जति पनि स्पर्धामा खेल्न पाउँछ । गत महिना बुडापेस्ट (हंगेरी) मा भएको विश्व च्याम्पियनसिपमा अमेरिकी केटी लेडेस्की ६ स्पर्धामा सहभागी हुँदै ५ स्वर्ण र १ रजत जितेकी थिइन् । अमेरिकी माइकल फेल्प्सले बेइजिङ ओलम्पिकमा ८ स्वर्ण जितेका थिए ।

नेपालमै पनि करिश्मा कार्कीले पाँचौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण र शिरीष गुरुङले सातौं संस्करणमा १४ स्वर्णपदक जितेका थिए । उनीहरूले सहभागी सबै स्पर्धामा सफलता हात पारेका थिए र यसअघि नेपाली पौडीमा एक खेलाडीले सीमित स्पर्धामा मात्र प्रतिस्पर्धा गर्न पाउने नियम लागू गरेको थिएन न त अन्य देशमा नै यस्तो नियम छ ।

गौरिकाले ११ वर्षको छँदा १९ औं राष्ट्रिय पौडीमा कीर्तिमानसहित ८ स्वर्ण र १ रजतपदक जितेकी थिइन् । २० औं संस्करणमा कीर्तिमानसहित सहभागी ६ स्पर्धामा स्वर्ण कब्जा गरेकी थिइन् । उनले १२ औं सागमा चार पदक जित्ने क्रममा पनि व्यक्तिगत सात स्पर्धा र तीन रिलेमा गरी १० स्पर्धामा प्रतिस्पर्धा गरेकी थिइन् र ती सबैमा राष्ट्रिय कीर्तिमान पनि बनाएकी थिइन् ।

उनले ३० पल्ट राष्ट्रिय कीर्तिमान बनाएकी छन् । उनका केही कीर्तिमान पुरुष खेलाडीको भन्दा पनि राम्रो छ । त्यसैले अन्य खेलाडीहरू उनीसँग प्रतिस्पर्धा गर्न डराउने गर्छन् । केही खेलाडीका अभिभावक संघको केन्द्रीय समितिमा पनि छन् । उनीहरूको दबाबमा गौरिकालाई रोक्ने प्रयास भइरहेको संघकै एक पदाधिकारीले बताए । राजधानीमै रहे पनि संघका अध्यक्ष अशोक वज्राचार्य पत्रकार सम्मेलनमा उपस्थित थिएनन् ।

गौरिकाकै पालोमा यस्तो नियम किन ल्याइयो ? संघका महासचिव जगतमान श्रेष्ठले भने, ‘समयको माग हो ।’ पत्रकार सम्मेलनमै जवाफ दिन मुस्किल भएपछि संयोजक राणाले भनिन्, ‘यो कुरा (स्पर्धा) प्राविधिक समितिको निर्णयअनुसार गरिएको हो ।’ प्राविधिक समितिका संयोजक राजेश वज्राचार्यले भने, ‘एक खेलाडीले बढीमा व्यक्तिगत ४ स्पर्धामा सहभागी हुन पाउनेछ, यसलाई बढाएर ७ स्पर्धासम्म बनाउन सक्छौं ।’

संयोजक राणाले सातदोबाटोमा हुने प्रतियोगितामा महिला र पुरुषका गरी ३६ स्पर्धा समावेश गरिने बताए पनि प्रेस विज्ञप्तिमा २१ स्पर्धामात्र उल्लेख थियो । गौरिकाले १२ औं सागमा २ सय मिटर इन्डिभिज्युअल मिड्लेमा रजत, १ सय र २ सय मिटर ब्याकस्ट्रोक तथा ४ सय मिटर फ्रिस्टाइलमा कांस्यपदक जितेकी थिइन् । राष्ट्रिय प्रतियोगितामा समावेश स्पर्धाबारे संघको विज्ञप्तिमा २ सय मिटर इन्डिभिज्युअल मिड्ले र ४ सय मिटर फ्रि–स्टाइल नै उल्लेख छैन ।

‘दु:ख दिइरहे विकल्प खोज्ने’

रियो ओलम्पिकमा ११ हजार बढी खेलाडीमध्ये सबैभन्दा कम उमेरको भएर विश्वमै चर्चा पाएकी गौरिकाका पिता पारसबहादुर सिंहले पौडी संघले निरन्तर दु:ख दिए विकल्प खोज्नुपर्ने बाध्यता आउन सक्ने बताएका छन् ।

दक्षिण एसियाली खेलकुदको ३२ वर्षको इतिहासमै व्यक्तिगत स्पर्धामा पदक हात पार्ने पहिलो नेपाली खेलाडी गौरिकाबारे पिता पारसले भने, ‘सानो उमेरमै गौरिकाले नेपालका लागि ठूलै उपलब्धि हात पारेकी छन् । पौडी र नेपाल उनका लागि धेरै प्रिय छ । तर संघले निरन्तर दु:ख दिइरहे हामीले उनका लागि अरू विकल्प खोज्नुपर्ने हुन्छ ।’

सातौं राष्ट्रिय खेलकुदमा पनि गौरिका लन्डनबाट आएर प्रतिस्पर्धा गर्ने तयारीमा थिइन् । संघले पनि प्रतियोगिताको मिति उनलाई जानकारी गराएको थियो । ‘त्यसैअनुसार उनले तयारी गरेकी थिइन् । आर्मीबाट खेल्ने तय भइसकेको थियो तर अन्तिम समयमा संघले प्रतियोगिता सारेको बतायो, कहिले हुने भन्ने जानकारी नै दिएन । त्यसैले उनी राष्ट्रिय प्रतियोगिताबाट वञ्चित हुनुपर्‍यो,’ लन्डनमा कार्यरत चिकित्सक सिंहले भने, ‘उनी स्कुलमा अध्ययनरत छिन् । ट्रेनिङ गर्छिन् । पढ्ने, पौडी खेल्ने, आराम गर्ने समय मिलाउनुपर्छ । योजना बनाएर प्रतिस्पर्धा गर्नुपर्छ । प्रतियोगिता अनिश्चित हुँदा योजनामा असर पर्छ । उनको पनि शरीर हो, मेसिन होइन ।’

गौरिका ‘इङलिस एज ग्रुप च्याम्पियनसिप’ मा ५० मिटर फ्रिस्टाइल, ५० मिटर ब्याकस्ट्रोक र १ सय मिटर ब्याकस्ट्रोकको फाइनल चरणमा छनोट भएकी थिइन् । त्यससँगै ब्रिटिस ओपन वाटर च्याम्पियनसिपमा ३ किमिको प्रतिस्पर्धा छाडेर उनी राष्ट्रिय प्रतियोगितामा सहभागी हुन आएकी हुन् । लन्डनस्थित बार्नेट कोप्टहल स्वीमिङ क्लबमा पाँच वर्षयता प्रशिक्षण गरिरहेकी उनले ह्याब्स स्कुल फर गल्र्समा भर्खर ९ कक्षा सकाएकी छन् ।