१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन यूकेमा पञ्जिकृत सदस्य दुई हजार काट्यो

नेपालब्रिटेन डट कम्
३० श्रावण २०७४, सोमबार ०९:२७

लन्डन । गैरआवासीय नेपाली संघ बेलायतको ९ सेप्टेम्वरमा हुने अधिवेशनका लागि सोमवारसम्म पञ्जिकृत सदस्यको संख्या २ हजार भन्दा बढी पुगेको छ । गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरुङका अनुसार अनलाइनबाट मात्र सदस्यताका लागि आवेदकको संख्या १४ सय नाघेको छ ।

अनलाइनबाट फर्म भरेको १४ सय मध्ये ९ सय ८२ मात्र सदस्यताका लागि योग्य छन् भने अन्यको प्रमाणिकरण हुन बाँकी छ । करिब ७ सय सदस्यहरुको फारम सोमवार विहान सम्म एनआरएनए यूकेको निर्वाचन कार्यालयमा आइपुगेको छ ।

सदस्यता प्रमाणिकरणका लागि खटिएका अध्यक्ष गुरुङले नेपाल ब्रिटेन डट कमसँग भने, ‘बिहान ५ बजेदेखि सदस्यको प्रमाणिकरणमा जुटेको छु । हिजो पनि राती अबेर सम्मकाम गरियो । यस कामका लागि ६ जना स्वयम सेवक खटिएका छन् ।’

उनले बैंकमा जम्मा भएको सदस्यता शुल्कको आधारमा सदस्यको प्रमाणिकरण गरिएको जानकारी दिए ।

निर्वाचनमा उम्मेदवार बन्न र मतदान गर्न इच्छुकले आज साँझ १० बजे अगावै सदस्यता लिनुपर्ने समयसीमा एनआरएन यूकेले तोकिएको छ ।

संघको नेतृत्वका लागि आइसीसी सदस्य कृष्ण तिमल्सिना, उपाध्यक्षद्वय योगकुमार फगामी र हिराधन राई अगाडि सरेका छन् । अन्य पदका लागि दर्जनभन्दा बढी आकांक्षीले उम्मेदवारी घोषणा गरेका छन् ।

आज सोमबार साँझ १० सम्म संघमा पञ्जिकृत हुने सदस्यताको आधारमा आगामी नेतृत्व कस्को पक्षमा जान्छ भन्ने अनुमान लगाउन सकिने बताइएको छ ।

२५ पाउण्ड सदस्यता शुल्क तोके पछि सदस्य बन्नेहरुको संख्या निकै कम हुने अपेक्षा गरिएको थियो तर नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने देखीए पछि पञ्जिकृत सदस्यको संख्या ३ हजार भन्दा बढी हुने भएको छ । अध्यक्ष पदका आकांक्षीहरुले आज अन्तिम समयमा उल्लेख्य संख्यामा सदस्यहरु थप गर्ने सक्ने वताएको छ ।