१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चिनियाँ उपप्रधानमन्त्री वाङ काठमाडौंमा

नेपालब्रिटेन डट कम्
३० श्रावण २०७४, सोमबार १५:३७

काठमाडौं । चीन सरकारका उपप्रधानमन्त्री वाङ याङ सोमबार नेपाल भ्रमणकाक्रममा काठमाडौं आइपुगेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्यसमेत रहेका वाङ उच्चस्तरीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै नेपाल आएका हुन् । पाकिस्तानको स्वतन्त्रता दिवसमा सहभागी भइ विशेष विमानबाट उनी काठमाडौं आइपुगेका हुन् ।
नेपाल बसाइँकाक्रममा चिनियाँ उपप्रधानमन्त्रीको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा तथा सत्तारुढ र विपक्षी दलका शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । साथै, चिनियाँ उपप्रधानमन्त्रीले बसन्तपुरस्थित हनुमानढोका दरबार पुनःनिर्माणको शिलन्याससमेत गर्ने कार्यक्रम रहेको छ । पाँच वर्षयता चीनबाट भएको यो नै सबैभन्दा उच्चस्तरीय भ्रमण हो ।
चीन र भारतबीच दोक्लममा सीमा विवाद चर्किरहेको र प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने तरखर गरिरहेकोबेला भएको यो भ्रमणलाई निकै महत्वपूर्ण मानिएको छ । भ्रमणकाक्रममा नेपाललेसमेत हस्ताक्षर गरिसकेको ‘वान बेल्ट वान रोड’ परियोजनाबारे पनि छलफल हुने बुझिएको छ ।