१२ बैशाख २०८१, बुधबार
Follow Us

हेल्प नेपाल युकेद्वारा बाढीपीडित संकलन शुरु

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७४, मंगलवार १०:००

गत साता भारी वर्षातका कारण नेपालमा आएको बाढीबाट प्रभावित समुदायसम्म सहयोग पुराउने उद्देश्यले हेल्पनेपाल नेटवर्क युकेले सहयोग संकलन शुरु गरेको जनाएको छ।

यो लिङ्कमा गएर सहयोग प्रदान गर्न सकिनेछ।

https://www.justgiving.com/fundraising/nepal-flood-relief-2017

“जहाँ बसे वा काम गरिरहेको भएता पनि नेपालमा प्राकृतिक विपदले धनजनको ठूलो क्षति गर्दा हामीहरुको मन दुख्छ। बाढी पीडितहरुकालागि तत्काल खानेकुरा, सफा पिउने पानी र औषधिको आवश्यकता छ। त्यसैले विगतमा जस्तै यसपटक पनि हामीले शुरु गरेको राहत अभियानमा मन खोलेर सहयोग गर्न हामी अपील गर्दछौं,” हेल्पनेपाल नेटवर्क युकेका अध्यक्ष डा. प्रणव ज्ञवालीले भने।

काठमाडौंस्थित हेल्पनेपाल नेटवर्कका अध्यक्ष अरुणसिं बस्नेतले विभिन्न ठाउँहरुबाट राहत सहयोगका लागि अनुरोधहरु आइरहेको बताए। “हामीले अहिले नवलपरासी, रौतहट, सिराहा, सप्तरी, झापा र सुनसरीमा राहत पुर्याउने निर्णय गरेका छौँ। यो मानवीय अभियानमा सहयोग गर्न हामी नेपाल र संसारभरि रहनुभएका नेपालीहरुलाई आह्वान गर्दछौं,” उनले भने।

हेल्प नेपाल नेटवर्कले विगतमा पनि भुकम्प तथा बाढी, पहिरो एवम् आगलागी पीडितहरुलाई थलोमै गएर राहत वितरण गर्दै आएको छ। गत जुलाईमा पनि नेटवर्कले सप्तरीमा बाढी पीडित दर्जनौं परिवारलाई भाँडाकुँडा, धोती-साडी, त्रिपाल र लुगाहरू वितरण गरेको थियो।
हेल्प नेपाल मार्फत प्रदान गरिएको सबै सहयोग सीधै पीडित परिवार सम्म पुग्ने र एक पैसा पनि प्रशासनिक काममा खर्च नहुने नेटर्कले जनाएको छ। सन् १९९९ मा स्थापना गरिएको कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कका १४ मुलुकहरुमा शाखाहरु रहेका छन्।