७ बैशाख २०८१, शुक्रबार
Follow Us

दाहाल सरकारको डुंगा चढ्न मुसाहरुको ताँती

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७३, बिहीबार १४:३७

काठमाडौं । नेपालको सत्ता राजनीतिमा त्यस्ता केही माहिर खेलाडी छन् जसलाई जुनसुकै सरकार आए पनि फरक पर्दैन । राजनीतिक निष्ठा र आस्थाभन्दा पनि पहुँच र पदमा पुग्नका लागि जुनकुनै गठबन्धन बनाउन क्रियाशीलहरु फेरि सक्रिय भएका छन् । यो उनीहरुको स्वभाव मात्र नभए चरित्र नै बनेको छ ।
त्यस मध्येका पहिलो पात्र हुन् विजयकुमार गच्छदार । मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारको पार्टीका जम्मा १४ सांसद् छन् । केपी शर्मा ओली नेतृत्वको सरकारको उपप्रधानमन्त्री तथा भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका गच्छदारले प्रधानमन्त्री फेरिने सुइको पाए लगत्तै ओलीलाई दिएको समर्थन अन्तिम अवस्थामा फिर्ता लिएका थिए । उनको पार्टीले बुधवार प्रधानमन्त्रीको निर्वाचनमा पुष्पकमल दाहाललाई मतदान गरेर फेरि भौतिक योजना सहितको अर्को एक मन्त्रालयको जिम्मेवारी लिने तयारी गरिरहेका छन् । विद्यार्थीकालमै नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका गच्छदारले राजनीतिक वृत्तमा मालदार मन्त्रालयको नामले परिचित भौतिक योजना तथा निर्माण मन्त्रालय बढी समय सम्हालेका छन् ।
गिरिजाप्रसाद कोइरालानिकट रहेर लामो समय राजनीति गरेका गच्छदारले २०५५ सालको मन्त्रिपरिषदमा स्थान नपाएपछि उनको साथ छाडेका थिए । यस्तै संविधानसभाको पहिलो निर्वाचनअघि कांग्रेस छाडेर उनी मधेसी जनअधिकार फोरम नेपालमा लागेका थिए । २०६२।६३ को आन्दोलन सफल भइसकेपछि गच्छदार २०६५ साल भदौं २ गते पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा भौतिक योजना मन्त्री बने । त्यसपछि २०६६ साल जेठ ११ गते बनेको माधवकुमार नेपाल नेतृत्वको सरकारमा पनि उनी उपप्रधानमन्त्री तथा भौतिक योजना मन्त्री नै बने । २०६८ साल भदौ १२ मा डा. वावुराम भट्टराई नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री तथा गृह मन्त्री बने भने २०७२ साल असार २५ गते ओली नेतृत्वको सरकारमा उनले उपप्रधानमन्त्री तथा भौतिक योजना तथा यातायात मन्त्री सम्हाले । यसअघि काँग्रेसमा हुँदा उनले जलस्रोत, सूचना तथा सञ्चार, पर्यटन, नागरिक उड्डयनजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका थिए । जुनसुकै व्यक्ति सत्तामा आओस तर गच्छदारलाई फरक पर्दैन र उनी सरकारमा जान तयार हुन्छन् । गच्छेदार अहिले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि फेरि मन्त्री बन्ने निश्चित छ । यस्ता प्रवृत्तिलाई नेपाली समाजमा मुसा प्रवृत्तिको संज्ञा दिइने गरेका छन् ।
गच्छदार मात्रै होइन मुसा प्रवृत्तिमा सामेल भएका अर्का पात्र हुन् समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह । जम्मा एक सिट भएका सिंहले ओली नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । ओली नेतृत्वको सरकार गिर्ने छाँट पाए लगत्तै उनले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट वाहिरिएका थिए । उनलाई दाहाल नेतृत्वको सरकारले खानेपानी तथा सरसफाई मन्त्रालय नै दिने तयारी गरेको छ । त्यस वाहेक २ सिट भएको परिवार दलले पनि मुसा प्रवृत्तिलाई निरन्तरता दिदै बुधवार दाहाललाई मतदान ग¥यो । ओली नेतृत्वमा शान्ति मन्त्री पाएका परिवार दलका अध्यक्ष एकनाथ ढकाल पनि सोही मन्त्रालयको जिम्मेवारी पाउनका लागि दौडधुप गरिरहेका छन् ।