८ बैशाख २०८१, शनिबार
Follow Us

भेटिएको पाँच लाख सम्बन्धित व्यक्तिलाई फिर्ता

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७४, मंगलवार १४:५७

काठमाडौं । के तपाईँले कहिल्यै लाखौँ रुपैँया हराउनुभएको छ ? यदि हराएको भए के गर्नुहुन्छ ? पक्कै पनि तपाईँमा त्यो रकम पाइएला भनेर कमै आशा हुनेछ ।
तर ललितपुरको भैँसेपाटी बस्ने सुजन लामाले हराएको रु पाँचलाख केही घण्टामा फेला पारेपछि खुशीले गद्गद् हुनुभयो । लामाले नयाँ सडकको रन्जना ट्रेडर्समा रहेको साथी प्रवीन लामाको पसलबाट पैसा लिएर टेकुतर्फ जाँदै गर्दा मोटरसाइकलमा राखेको रकम हरायो । लामा बाटोमा पुगेर पैसा हेर्दा नभेटेपछि तत्काल रन्जना टेडर्सको साथीलाई फोन गर्नुभयो । रन्जना टेडर्सको साथीले तत्काल महानगरीय प्रहरी वृत्त जनसेवा नयाँ सडकलाई खबर गरे ।
सोही समयमा बाटोमा हिँड्दै गरेको अवस्थामा काठमाडौँ महानगरपालिका–२१ जैसीदेवलमा रहेको ह्युमट महिला समूह (मिसाःपूच)ले रु चार लाख फेला पा-यो । फेला पारेको रकम लिएर महिला समूह जनसेवा आइपुग्यो ।
जनसेवामा आइपुगेको महिला टोलीले जनसेवाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यलाई भेटेर पैसा पाएको खबर गरेपछि लामालाई जनसेवा बोलाएर सिसिटिभी र फुटेजका आधारमा अनुसन्धान गरेर पैसा लामाकै भएको ठहर गरेपछि फिर्ता गरियो ।
वृत्तका प्रमुख आचार्य पाउने व्यक्ति र हराउने व्यक्ति दुवैको फोन आएकाले तत्काल सम्बन्धित व्यक्तिलाई पैसा फिर्ता गर्न सकिएको बताउनुहुन्छ । यस्तै हराएको रकममध्ये रु एक लाख महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले फेला पारेको छ । पैसा लिएर हिँड्दै गर्दा छिरलिएको पैसा काममा खटिएका ट्राफिक जवानले फेला पारेका थिए ।
जवानले फेला पारेको रकम महाशाखाको माध्यमबाट लामालाई हस्तान्तरण गरिएको महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।