१२ बैशाख २०८१, बुधबार
Follow Us

पार्टीभित्रको गुट भ्रातृ संस्थामाः नेता सिंह

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७४, मंगलवार १५:४३

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रको गुट भ्रातृ संस्थामा देखा पर्दै गएको बताउनुभएको छ । नेपाल विद्यार्थी संघ कान्तिपुर सिटी कलेजले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेता सिंहले पार्टीभित्र देखिएको गुट भ्रातृ संस्थामा देखिएकाले भ्रातृ संस्थाले सोचेअनुसारको काम गर्न नसकेको बताउनुभएको हो ।

नेता सिंहले काँग्रेस लोकतन्त्रका लागि लडेको पार्टी भए पनि पार्टीभित्र एकदलीय संस्कार हावी हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । “पार्टीभित्र विचारभन्दा पनि व्यक्तिलाई मान्ने संस्कार मौलाउन थालेको छ,”–नेता सिंहले भन्नुभयो ।

उहाँले मुलुकको जल्दोबल्दो र राष्ट्रिय मुद्दालाई काँग्रेस जुन रुपमा प्रस्तुत हुन पर्ने हो त्यो हुन नसकेको बताउनुभयो । काँग्रेसले मुलुकको सबै समस्या समाधान गरोस् भन्ने इच्छा सबैमा भएको उहाँको भनाइ थियो ।

पूर्वउपप्रधानमन्त्री सिंहले तराईमा भएको डुबानका पीडितलाई उद्दार गरेर तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो ।