७ बैशाख २०८१, शुक्रबार
Follow Us

एमाले वेलायतले भन्यो: छिटो राहत देऊ

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७४, मंगलवार १७:५५

लण्डन । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च बेलायतले नेपालका बाढी पीडितहरुलाई प्रभावकारी रुपमा राहत र पुर्नस्थापनाको बन्दोबस्त मिलाउन नेपाल सरकारसंग माग गरेको छ ।
लण्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई एक ज्ञापन पत्र पठाउंदै मञ्चले भारत सरकारसंग तराईको डुबानका विषयमा अविलम्ब ठोस वार्ता गर्न र समाधानका लागि कूटनीतिक पहल गर्न समेत माग गरेको छ ।
मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी नेतृत्वको टोली मंगलबार दिउंसो लण्डन दूतावास पुगेर राजदूत डा दुर्गाबहादुर सुवेदीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

‘कोशी, गण्डकी लगायत विभिन्न स्थानमा गरिएका जलश्रोत सम्बन्धी सन्धी– संझौताहरु नेपालको हितलाई ध्यानमा राख्दै संशोधन गरियोस् । नेपालको दक्षिणी सीमामा भारतीय पक्षले प्राकृतिक बहावको पानी नियन्त्रण गर्ने र नेपाली भूभाग डुबानमा पार्र्ने गरी बनाएका संरचनाहरु तुरुन्त भत्काइयोस्’ , मञ्चको ज्ञापनपत्रमा भनिएको छ ।


ज्ञापनपत्रको पुर्णपाठ

प्रवासी नेपाली मंच, युके
मितिः १५ अगस्त, १९१७ (३१ श्रावण, २०७२)
श्री सम्माननीय प्रधानमन्त्रीज्यू,
श्री नेपाल सरकार, मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौं, नेपाल,
मार्फत्, श्री महामहिम राजदूत श्री दुर्गाबहादुर सुवेदीज्यू, नेपाली राजदूतावास, लन्दन, बेलायत ।

विषयः ज्ञापन पत्र

श्री सम्माननीय प्रधानमन्त्री महोदय, केही दिन यता परिरहेको अविरल वर्षाका कारण नेपालको तराई जलमग्न भएको छ । बाढीको कहरले पूर्वी तराईलाई सबैभन्दा बढी आक्रान्त पारेको छ भने पश्चिमी तराई पनि बाढीको चपेटामा परेको छ । अत्यधिक अविरल वर्षाका कारण पहाडी भूभागमा पहिरोले ताण्डव मच्चाएको छ । दर्जनौ नेपालीको ज्यान गएको छ भने सयौं बेपत्ता भएका छन् तथा लाखौं नेपालीहरु विस्थापित हुन बाध्य भएका छन्। तराईमा बाढी र डुबानका कारणले मृतकको लास जलाउने वा गाड्न ेसमेत ठाउं नभएर त्यत्तिकै बगाउनु परेको सुन्दा हामी प्रवासमा हुने नेपालीहरुको मन धर्धरी रोएको छ । दुःखको यस घडीमा सबै मृतकजनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौं भने मृतकका शोकाकूल आफन्तहरुप्रति गहिरो समभाव प्रकट गर्दछौं ।

देशभित्रका नेपाली दाजुभाइ–दिदीबैनीहरु, सबैले संयम गर्नुहोस् र एक–आपसमा सहयोग गर्नुहोस् । सम्माननीय प्रधानमन्त्रीज्यू, दुःखको यस घडीमा प्रभावकारी ढंगले राहत तथा पुनस्र्थापनाको काम गर्न हामी प्रवासी नेपालीहरु नेपाल सरकारसंग जोडदार माग गर्दछौं । साथै हामी बेलायतवासी प्रवासी नेपालीहरुले पनि यथासक्य सहयोग संकलन गरी नेपाल सरकारलाई उपलब्ध गराउने बचनबद्धता पनि व्यक्त गर्दछौं । कोशी र गण्डकीमा भारत सरकारले आफ्नो मात्र फाइदा हुने गरी बांध बांधेको र त्यसबाट नेपाललाई वर्षाको बेला बाढीमा डुबान गराउने तर हिउंदमा सिंचाइका लागि पानी उपलब्ध नगराउने भारत सरकारको रवैया हामी देश– विदेशमा रहेका सबै नेपालीहरुमाझ लुकेकेको विषय रहेन । यसैगरी रुपन्देहीको खुर्दलौटन बांध, कपिलवस्तुको महलीसागर बांध र बांकेको लक्ष्मणपुर बांध लगायत दर्जनौं ठाउंमा भारतीय पक्षबाट नेपाली सीमाको नजिकै एकतर्फी रुपमा बांध बांध्नाले वर्षेनी तराईमा डुबानको समस्या बढिरहेको छ ।

प्रवासी नेपाली मंच, बेलायत (ओएनएफ युके) भारतीय पक्षबाट हुने गरेको यस खाले ज्यादतीको जोडदार विरोध गर्दछ तथा वर्षा याममा प्राकृतिक रुपमा बग्ने पानीमा कुनै अवरोध नगर्न पनि माग गर्दछ ।

सम्माननीय प्रधानमन्त्रीज्यू, प्रवासी नेपाली मंच, बेलायत, ९ओएनएफ यु।के।० भारत सरकारसंग नेपाल सरकारले तराईको डुबानका विषयमा अविलम्ब ठोस वार्ता गरोस् र समाधानका लागि कूटनीतिक पहल गरोस् भन्ने पनि माग गर्दछ । हाम्रो संगठनको माग छ, कोशी, गण्डकी लगायत विभिन्न स्थानमा गरिएका जलश्रोत सम्बन्धी सन्धी– संझौताहरु नेपालको हितलाई ध्यानमा राख्दै संशोधन गरियोस् ।

नेपालको दक्षिणी सीमामा भारतीय पक्षले प्राकृतिक बहावको पानी नियन्त्रण गर्ने र नेपाली भूभाग डुबानमा पार्नेगरी बनाएका संरचनाहरु तुरुन्त भत्काइयोस् । बेलायतमा बस्नुभएका सम्पूर्ण प्रवासी नेपाली दाजुभाइ तथा दिदीबैनीमा हाम्रो हार्दिक अपिल छ– आफू सक्दो राहत दान गर्न र संकलन गरी जुटाउनका लागि तत्कालै जुटौं !

राजेन्द्र पुडासैनी
अध्यक्ष,
प्रवासी नेपाली मंच, बेलायत