७ बैशाख २०८१, शुक्रबार
Follow Us

लेदो हटाउन सेना परिचालन

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७४, बिहीबार ०६:१९

विराटनगर । विराटनगर विमानस्थल भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ । साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान सेवा अवरुद्ध भएको हो । विराटनगर विमानस्थलमा जमेको हिलो निकाल्नका लागि नेपाली सेना परिचालन भएको छ । करिब २०० को संख्यामा खटेका नेपाली सेनाका टोली आलोपालो गरी लेदो हटाउनेलगायतका कार्यका जुटेका छन् ।
यस सम्बन्धमा नागरिक उड्डयन कार्यालय, विराटनगरका प्रमुख सुरेशमान सिंहले मौसमले साथ दिएमा भदौ ३ गते अपराह्नदेखि नियमित उडान सुचारु हुने जानकारी गराउनुभयो ।
वर्षा र बाढीबाट भएको क्षतिको अहिले तथ्याँक संकलन कार्य नगरिएको र यतिखेर विमान सेवा सुचारु गर्नेतर्फ मात्र ध्यान केन्द्रित गरिएको उहाँले बताउनुभयो ।
विमान उडान र अवतरणका लागि दिशानिर्देश गर्ने भिओआर उपकरणमा कुनै क्षति नभएकाले लेदो पखालेपछि नियमित उडान गर्न सकिने प्रमुख सिंहले थप्नुभयो ।
हटाइएको हिलोलाई व्यवस्थापन गर्नका लागि एउटा डोजर, दुईवटा ट्र्याक्टर र चारवटा दमकल परिचालन गरिएको छ ।